आयातित गाडी फिर्ता लैजान सक्ने व्यवस्था गरिनुपर्छ : अध्यक्ष थापा

<p>काठमाडौं । अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष ध्रुव थापाले गाडी आयात गरेर ल्याउँदा फिर्ता लैजाने प्रावधान मिलाउनु पर्ने बताएका छन् । अध्यक्ष थापाले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा आयात गरेर ल्याइएका गाडी फिर्ता हुने गरी कार्यक्रम शमावेश गर्नुपर्ने धारणा राखेका छन् । ‘हामीले विदेशबाट गाडीको आयात गरेर ल्याउँछौं, ल्याएका गाडीमा कहिलेकाहिँ उत्पादनमा [&hellip;]</p>

काठमाडौं । अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष ध्रुव थापाले गाडी आयात गरेर ल्याउँदा फिर्ता लैजाने प्रावधान मिलाउनु पर्ने बताएका छन् । अध्यक्ष थापाले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा आयात गरेर ल्याइएका गाडी फिर्ता हुने गरी कार्यक्रम शमावेश गर्नुपर्ने धारणा राखेका छन् ।

‘हामीले विदेशबाट गाडीको आयात गरेर ल्याउँछौं, ल्याएका गाडीमा कहिलेकाहिँ उत्पादनमा समस्या देखिन सक्छ, त्यो जुनसुकै गाडीमा पनि हुन सक्छ, त्यस्ता गाडी अथवा पार्ट कम्पनीले फिर्ता पनि लिन्छ, तर आएपछि फिर्ता लैजाने प्रावधान भएन, सयको चिजलाई २ सय रुपैयाँ भन्सार तिरेर ल्याएको हुन्छ, भ्याट पनि तिरको हुन्छ, हामीले फिर्ता गर्न चाहियो भने भन्सार फिर्ता हुँदैन,’ उनले भने ।

कम्पनीले दुईपाँग्रेका सवारीसाधनहरु फिर्ता मागे पनि पठाउन नसकेको थापाले गुनासो गरे । थापाले यस्ता सवारीहरू फिर्ता गर्नुपर्ने व्यवस्था मिलाउन आवश्यक रहेको बताए ।

केही समय अगाडी नाडाका पदाधिकारी र अर्थमन्त्री डा. प्रकाशशरण महतबीच भेटवार्ता भएको थियो । सो भेटमा आगामी बजेटले अटो मोबाइल क्षेत्रमा सम्बोधन गर्नु पर्ने विषयमा छलफल भएको बताइएको छ ।

अटो मोबाइलको विषयलाई लिएर अर्थमन्त्री महत पनि सकारात्मक नै रहेको थापाले बताए । ‘अटो मोबाइलमा अस्थिरता देखिएको छ, लामो समयदेखि अटो मोबाइल निराशाजनक अवस्थामा छ, त्यसलाई सुधार्नका लागि आवश्यक केही कुराहरू छन्, ती कुराहरूलाई मध्यनजर गरी अटो मोबाइललाई फोकस गरेर कार्यक्रमहरू ल्याउनु पर्यो,’ उनले भने ।

यसै गरी पछिल्लो समय नेपालमा ईभी सवारीका प्रयोगकर्ता दिनहुँ बढी रहेको पनि थापाले बताए । उनका अनुसार इभी सवारीसाधनका लागि आवश्यक पर्ने पूर्वाधारहरू निर्माण गर्नको लागि पनि आगामी आ.ब.को बजेटमा कार्यक्रम व्यवस्था गर्नुपर्ने हुन्छ ।

विद्युतीय सवारी साधनहरूको प्रयोगलाई प्रोत्साहित गर्न त्यसमा लाग्ने भन्सार तथा अन्तःशुल्क महसुलमा थप छुट दिनु पर्ने पनि अध्यक्ष थापाले बताएका छन् ।

आगामी आ.ब.को बजेटमा अटो मोबाइललाई पनि चाँडै चलायमान हुने गरी कार्यक्रम ल्याउनु पर्ने थापाको भनाइ छ । सार्वजनिक तथा ढुवानीका सवारी साधनहरू डिजेलबाट चल्ने र हाल डिजेलको भाउ उच्च बिन्दुमा पुगेको कारण त्यसको प्रत्यक्ष नकारात्मक प्रभाव बजारमा परेकोले डिजेलबाट चल्ने सवारी तथा ढुवानीका साधनहरूमा लाग्ने महसुल घटाउने कार्यक्रम बजेटमा समावेश गर्न उनले आग्रह गरेका छन् ।

‘अहिले गाडीका आयातमा प्रतिबन्ध हटाइएको छ, तर अटो लोन/हायर पर्चेज कर्जामा जोखिम भार भने एकसय बाट १७५ पुर्याउने काम भएको छ, जोखिम भारले गर्दा अटो मोबाइल सेक्टरमा बैंकले लगानी गरेको छैन, यसलाई छिटो भन्दा छिटो हटाउनु पर्याे, अहिले ३ हजार ३२ सय गाडी भन्सारमा छन्, हामी ती गाडी छुटाउन सक्ने अवस्थामा छैनौं,’ उनले भने ।

साथै थापाले अहिले अटो मोबाइल स्पेयर पार्टसको चोरी पैठारी निकै बढेको र रोकथाम गर्न सकिएमा राजस्व पनि बढ्ने बढने बताउँदै राज्यलाई सो दिशामा काम अगाडि बढाउन सुझाव दिएका छन् । उनका अनुसार स्टकमा राखेको गाडीमा कर लाग्दैन, तर डिलरमा जाने बित्तिकै गाडीमा कर लाग्छ । यस्तो व्यवस्थालाई हटाउनु पर्ने पनि थापाले बताए ।

Share News