देशभर इभीका चार्जिङ स्टेशन राख्ने कार्यक्रम ल्याउनु पर्छ : सीईओ श्रेष्ठ

<p>काठमाडौं । टाटा मोटर्सको नेपाली आधिकारिक बिक्रेता कम्पनी सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजनबाबु श्रेष्ठले आगामी बजेटमा देशभर इलेक्ट्रिक भेइकल (इभी) सवारीका चार्जिङ स्टेशन बनाउने योजना ल्याउनु पर्ने बताएका छन् । श्रेष्ठले विकासन्युजसँग कुराकानी गर्दै आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा इभी सवारीको प्रोत्साहनका लागि चाहिने पूर्वाधार तयार गर्नु पर्ने र त्यसका लागि देशभर [&hellip;]</p>

काठमाडौं । टाटा मोटर्सको नेपाली आधिकारिक बिक्रेता कम्पनी सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजनबाबु श्रेष्ठले आगामी बजेटमा देशभर इलेक्ट्रिक भेइकल (इभी) सवारीका चार्जिङ स्टेशन बनाउने योजना ल्याउनु पर्ने बताएका छन् । श्रेष्ठले विकासन्युजसँग कुराकानी गर्दै आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा इभी सवारीको प्रोत्साहनका लागि चाहिने पूर्वाधार तयार गर्नु पर्ने र त्यसका लागि देशभर चार्जिङ स्टेशनहरु निर्माण गर्नु पर्ने कार्यक्रम ल्याउनु पर्ने बताएका हुन् ।

‘हामी सबैलाई देशको विकराल अवस्था बारे थाहा नै छ, सरकारी तबरबाट पनि त्यही कुरा भइरहेको छ, हामी पनि अहिले गाह्रो अवस्थामा छौं, त्यसैले अटो सेक्टरलाई आगामी बजेटले सकारात्मक तरिकाले हेर्न आवश्यक छ,’ उनले भने ।

श्रेष्ठले अहिले अर्बौं रुपैयाँको गाडी भन्सारमा थुप्रिएको विषयलाई बताउँदै दैनिक लाखौं रकम पार्किङमै खर्च भइरहेको बताए । उनले ती गाडी छुटाउन सकिने किसिमको राहत ल्याउनु पर्ने पनि बताए ।

इभीका सवारीमा सरकारले प्रोत्साहन गरे पनि नीति चाँडो परिवर्तन भएको उनको गुनासो छ । ‘इभीका सवारीको लागि लगानी धेरै चाहिन्छ, इभीका गाडी ल्याएर बेच्ने मात्र होइन, यसमा जुन इको सिस्टम छ, त्यसमा धेरै ठूलो लगानी हुन्छ, यसमा आयातकर्ताले धेरै लगानी गरिसकेका छन्, ‘उनले भने, ‘चार्जिङ स्टेसन, जनशक्ति र पूर्वाधारमा ठूलो लगानी छ, नीति स्थीर भयो भने यो क्षेत्रमा व्यवसायीहरू लगानी गर्न तत्पर हुन्छन् ।’

पछिल्लो समय बैंकले गाडीमा कम लगानी गरेको उनको भनाइ छ । बैंकले सहज तरिकाले गाडीमा लगानी गर्ने वातावरणको सिर्जना गर्ने कार्यक्रमलाई बजेटले सम्बोधन गर्नुपर्ने उनको भनाइ छ ।

बैंकको ब्याज घटाउनु पर्ने विषयलाई पनि श्रेष्ठले जोड दिए । ‘अहिले कतिपय व्यवसायी साथीहरूले डिलर बन्द गरेर पलायन भइसके, नेपालको लागि सडक यातायात विकासको मेरुदण्ड भनिन्छ, त्यसैले सोही अनुरूप सरकारले के–के चिजमा सहजता गर्न सक्छ, त्यसमा सहज गरेर यो उद्योगलाई उकास्न तर्फ लाग्नु पर्छ,’ उनले भने ।

इभीका सवारी मर्मत सम्भारमा चाहिने उपकरणमा सहुलियत दिन सक्यो भने यस क्षेत्रलाई अझै प्रवद्र्धधन गर्न सहयोग पुग्ने उनको विश्वास छ । यस्तै, गाडी आयात गरेर ल्याउँदा फिर्ता लैजाने प्रावधान मिलाउनु पर्ने श्रेष्ठले बताएका छन् । आयात गरेर ल्याइएका गाडी फिर्ता हुने र आगामी बजेटबाट फिर्ता लैजाने प्रावधानको कार्यक्रम समावेश गर्नुपर्ने उनको धारणा छ ।

 

Share News