
काठमाडौं । नेपालमा इलेक्ट्रिक भेइकल (ईभी) सवारीको लोकप्रियता बढ्नुको साथै प्रयोगकर्ताको संख्या बढ्दो छ । पछिल्लो समय सडकमा विभिन्न कम्पनीका ईभी सवारीको उपस्थिति बाक्लो हुँदै गएको देखिन्छ । ईभीमा मान्छेको आकर्षण बढेसँगै सरकारले पनि यसलाई प्रोत्साहन गर्ने नीति लिएको छ । यसका लागि सरकारले ईभी गाडीको आयातमा भन्सार छुट तथा विभिन्न सेवा तथा सुविधाहरू दिइरहेको छ ।
सरकारले ईभी सवारीको क्षेत्रमा सन् २०२५ सम्म प्राइभेटमा २० प्रतिशत र सार्वजनिक यातायातमा २५ प्रतिशत र २०३० सम्ममा सबै निजी यात्रुवाहक सवारीको बिक्री ९० प्रतिशत पुर्याउने लक्ष्य लिएको छ । यस्तै, चार पाँग्रे सार्वजनिक यात्रुवाहक विद्युतीय सवारीको बिक्री ६० प्रतिशतले वृद्धि गर्ने योजना छ ।
पछिल्लो समय ईभी सवारीको खरिदबिक्री बढेसँगै त्यसको असर पेट्रोल र डिजेलबाट चल्ने गाडीमा देखिन थालेको छ । पेट्रोल र डिजेलबाट चल्ने गाडीको बिक्रीमा पनि कमी आएसँगै यसको व्यवसायमा समेत असर गरेको छ ।
ईभीका गाडीले डिजेलबाट चल्ने गाडीको व्यापारमा धक्का दिन थालेपछि डिलरहरूलाई व्यवसाय धान्न पनि मुस्किल परेको व्यवसायीहरु बताउँछन् । इन्जिनका गाडी बिक्रीमा कमी आएसँगै डिलरहरुलाई समेत समस्या भएको हो ।
अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा) को तथ्याङक अनुसार विद्युतीय गाडीको आयातमा वार्षिक वृद्धि दर ४३ प्रतिशतले बढेको छ भने दुई पाँग्रे ईभीका सवारीमा ६३ प्रतिशतले वृद्धि भएको छ । सन् २०१९/२० मा ५७५, २०२०/२१ मा २१८, २०२१/२२ मा १५४० र २०२२/२३ मा २४१६ वटा ईभी गाडी आयात भएको नाडाको तथ्यांकमा उल्लेख छ ।
ईभीका सवारीको आयात र बिक्रीमा वृद्धि भएसँगै इन्जिनका गाडी बेच्ने डिलरलाई गाडी बेच्न समस्या सिर्जना भएको व्यवसायीहरुको भनाइ छ । आर्थिक मन्दी, बैंकिङ ब्याजमा वृद्धि, पेट्रोल तथा डिजेलको मूल्य उच्च भएको कारणले पनि इन्जिनका गाडीमा मान्छेको आकर्षण घटेको हो ।
नाडाका अध्यक्ष ध्रुब थापाले पेट्रोलियम इन्जिन गाडीको माग र बिक्रीमा कमी आएको बताएका छन् । उनका अनुसार पेट्रोलबाट चल्ने गाडीको बिक्री अहिले २५ प्रतिशत भन्दा बढी घटेको छ ।
‘लामो समयको प्रतिबन्धपछि इन्जिनवाला गाडीको आयात हुन थालेको २ महिना भयो, पेट्रोल र डिजेलबाट चल्ने गाडीको अहिले पहिलाको भन्दा २५ प्रतिशत भन्दा कम छ, इन्जिन वाला गाडी मुस्किलले बिक्री भइरहेको छ’ उनले भने ।
ईभी गाडी प्रयोगकर्ता गर्नेको संख्या बढेका कारण पेट्रोल तथा डिजेलबाट चल्ने गाडीको व्यवसायमा दबाब परेको उनले बताए । साथै, बैंक तथा वित्तीय संस्थाले गाडीमा फाइनान्स कम गरेको कारण बिक्रीमा कमी आएको अध्यक्ष थापाको भनाइ छ । विद्युतीय गाडीमा प्रयोगकर्ताहरुहरुको आकर्षण बढी देखिएपनि यसलाई वैकल्पिक साधनको रुपमा अगाडि सारेको उनले बताए ।
‘मान्छेले ईभीका सवारीलाई नै अहिले पहिलो प्राथमिकता दिएका छैनन्, यसलाई मान्छेले सेकेन्ड विकल्पको रूपमा लिइरहेका छन्, किन भने यसबाट लामो यात्रा तय गर्न सकिँदैन, जसका कारण प्रयोगकर्ताको पहिलो रोजाइमा इन्जिनवाला गाडी नै पर्छ तर, अहिले गाडी किन्नेको संख्या कम भएको महसुस गरेका छौं’, उनले भने ।
यस्तै, आर्थिक मन्दी र व्यपार व्यवसाय चलायमान नहुँदा पनि प्रयोगकर्ताहरुको प्राथमिकतामा सवारी साधन खरिदको विषय नपरेको उनको अध्यक्ष थापाको बुझाई छ । अहिले पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनको बिक्री हुन छाडेपछि भने डिलर व्यवसायीहरुलाई समस्या परेको थापाले बताए । खरिद बिक्रीको अवस्था हेर्दा नेपाली बजारमा इभीको दुई तथा चार पाङग्रे सावारीको वृद्धि राम्रो हुँदै गएको थापाको भनाइ छ ।
यस्तै, सिप्रदी ट्रेडिङका (सीईओ) राजनबाबु श्रेष्ठले पनि पछिल्लो समयमा पेट्रोलियम इन्जिनका सवारी साधनको बिक्रीमा कमी हुँदै गएको छ ।
‘हामीले हाम्रा डिलरहरूलाई धेरै सेवा सुविधाहरू दिइरहेका छौं, त्यसले गर्दा अहिले नै डिलरहरू बन्द गर्नुपर्ने अवस्था छैन, ईभीका गाडी बिक्री भइरहेको छ तर, इन्जिन गाडी चाहिँ बिक्री भएको छैन’, उनले भने ।
ईभी गाडीको खरिद बिक्रीले गर्दा डिलरहरूलाई व्यवसाय निरन्तर सञ्चालन गर्न ठूलो भूमिका खेलेको श्रेष्ठको भनाइ छ । आर्थिक मन्दीको अवस्थामा पनि ईभी गाडी सम्बन्धी सोधपुछ गर्ने काम प्रयोगकर्ताहरुबाट राम्रो भएको उनले बताए । उनका अनुसार प्रयोगकर्ताहरु इभी गाडीलाई लक्षित गरेर डिलरसम्म आइपुग्नेको संख्या धेरै रहेको छ ।
बिक्री हुनै छाड्यो कमर्सियल भेइकल
अहिले कमर्सियल भेइकल बिक्री हुनै छाडेको व्यवसायीहरू बताउँछन् । कमर्सियल भेइकलको स्टक भएर पनि विभिन्न कम्पनीका आधिकारिक बिक्रेता कम्पनीले गाडी बिक्री गर्न सकिरहेका छैनन् । नाडाका अध्यक्ष ध्रुब थापाका अनुसार अहिले सबै भन्दा नाजुक अवस्था कमर्सियल भेइकलको रहेको बताए । ‘दुई तथा चार पाँग्रे (कार) तथा ईभीको बिक्री राम्रो नै छ, तर कमर्सियल भेइकलको बिक्रीको अवस्था ठप्प जस्तै छ’, उनले भने ।
थापाका अनुसार पहिलाको तुलनामा कमर्सियल भेइकलको बिक्री २० प्रतिशत मात्र छ । यसैगरी सिप्रदीका सीइीओ राजनबाबु श्रेष्ठले पनि कमर्सियल भेइकलको व्यवसाय नाजुक रहेको बताए । व्यावसायिक महत्वका सवारी तथा ढुवानीका साधनहरुको बिक्री नभएको कुरा उल्लेख गर्दै श्रेष्ठले अटो उद्योग धराशायी स्थितिमा रहेको पनि बताए ।