काठमाडौं । सोमबार साँझ ४ बजे अर्थमन्त्री डा. प्रकाश शरण महतले संसदमा बजेट प्रस्तुत गर्दैछन् । उनले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट संसदको संयुक्त बैठकमा प्रस्तुत गर्दैछन् ।
उनले सोमबार करिब साढे १७ खर्बको बजेट सार्वजनिक गर्न लागेको बुझिएको छ । आज बजेट सार्वजनिक हुन लागेसँगै अधिकांशको ध्यान कर्मचारीको तलबमा पनि छ । सरकारले कर्मचारीको तलब बढाउँछ वा यथावत राख्छ भन्ने विषयमा अधिकांशको चासो बढेको छ ।
सरकारले हरेक दुई वर्षमा कर्मचारीको तलब हेरफेर गर्दै आएको छ । गत वर्षको बजेट मार्फत् कर्मचारीको तलब तह अनुसार १५ प्रतिशतले बढेको थियो । गत वर्ष कर्मचारीको तलब बढेको कारण पनि यो वर्ष नबढ्नु पर्ने हो । मन्त्रालय स्रोतका अनुसार पनि यो वर्ष कर्मचारीको तलब बढ्ने छैन ।
तर, उच्चस्तरीय तलब सुविधा आयोगले सरकारी कर्मचारीको न्यूनतम तलब बढाउन सिफारिस गरेपछि बजेट लेखन समितिले यस विषयमा पनि सोचेको छ । समितिले कर्मचारीको तलब बढाएर महँगी भत्ता र पोसाक भत्ता कटौती गर्न सक्ने चर्चा पनि अर्थ मन्त्रालयमा छ ।
सो समितिले कर्मचारीको न्यूनतम तलब ३५ हजार रुपैयाँ बनाउन सिफारिस गरेको थियो । पूर्वमुख्यसचिव लिलामणि पौड्यालको संयोजकत्वमा गठित समितिले सबैभन्दा तल्लो तहका कर्मचारीलाई ३५ हजार तलब कायम गर्नु पर्ने सिफारिस गरेको थियो । आयोगले मुख्यसचिवको तलब १ लाख २२ हजार ५०० रुपैयाँ हुने गरी व्यवस्थापन गर्न सुझाव दिएको थियो ।