काठमाडौं । सरकारले यूवालाई केन्द्रित गर्दै विभिन्न कार्यक्रम लागू गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी वर्षको बजेट प्रस्तुत गर्दै विभिन्न कार्यक्रम लागू गरेका छन् ।
उनले बजेट मार्फत् वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिलाई उद्यमशीलता विकास, विदेशमा अलपत्र परेका नागरिकहरूको शीघ्र उद्दार र युवा उद्यमशीलता प्रवर्द्धन वर्ष मनाइने कार्यक्रम लागू हुने बताएका छन् ।
यस्तै, युवा स्वरोजगार कोष मार्फत सहुलियतपूर्ण कर्जा प्रदान गर्ने, खेलाडीलाई सहुलियतपूर्ण ऋण प्रदान गर्ने र अबको जीवन स्वदेश कार्यक्रम लागू गर्ने बताएका छन् ।
यस्ता छन् युवा लक्षित कार्यक्रम
युवा जनशक्तिलाई मुलुकको आर्थिक तथा सामाजिक विकासमा परिचालन गरिनेछ। युवाको क्षमता विकास गरी रोजगारयोग्य बनाइनेछ। उद्यमशीलता विकास एवं वित्तीय स्रोत(साधनमा पहुँच अभिवृद्धि गरी युवालाई राष्ट्रिय उत्पादन प्रणालीमा आबद्ध गरिनेछ। खेलकुदको माध्यमबाट स्वस्थ, सक्षम र अनुशासित जनशक्ति तयार गरिने बजेटमा उल्लेख छ ।
आर्थिक वर्ष २०८०/८१ लाई युवा उद्यमशीलता प्रवर्द्धन वर्षको रूपमा मनाइनेछ। युवा पुस्तालाई उद्यमशीलता विकास र व्यवसाय सञ्चालनमा आकर्षित गर्न सीप, पुँजी र प्रविधिमा पहुँच वृद्धि गरिनेछ। युवा तथा साना व्यवसायी स्वरोजगार कोषको लगानी मोडालिटी परिवर्तन गरी युवालाई व्यवसाय गर्न सहुलियतपूर्ण कर्जा उपलब्ध गराइनेछ। खेलाडीलाई स्वरोजगार बन्न चाहेमा युवा स्वरोजगार कोष मार्फत सहुलियतपूर्ण कर्जा प्रदान गर्ने व्यवस्था मिलाइने अर्थमन्त्री महतले बताए ।
राष्ट्रिय युवा परिषद् मार्फत विकास निर्माण तथा समाज सेवामा युवा स्वयंसेवक परिचालन गरिनेछ। युवाको क्षेत्रमा कार्यरत संघ संस्था परिचालन गरी आर्थिक, सामाजिक र सांस्कृतिक जागरण अभियान सञ्चालन गरिनेछ।
अबको जीवन स्वदेशमा नै भन्ने नाराका साथ वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिलाई उद्यमशीलता विकास गर्ने र रोजगारीमा आबद्ध गर्ने गरी कार्यक्रम सञ्चालन गरिनेछ। गरिवीको रेखामुनि रहेका र वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिलाई लघु उद्यमीको रूपमा विकास गर्न स्थानीय तह मार्फत सीप विकास तालिम र व्यावसायिक परामर्श सेवा सञ्चालन गरिनेछ।
वैदेशिक रोजगारको सिलसिलामा विदेशमा अलपत्र परेका नागरिकहरूको शीघ्र उद्दार गरिनेछ। वैदेशिक रोजगारीका क्रममा घाइते वा मृत्यु भएका श्रमिकको परिवारलाई प्रदान गरिने राहत, क्षतिपूर्ति, छात्रवृत्ति लगायतका कल्याणकारी सेवा सम्बन्धित स्थानीय तहबाटै प्राप्त गर्न सक्ने व्यवस्था मिलाइनेछ।
नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको युवा उद्यमी मन्चका अध्यक्ष चिराग गोयलले यसपटक युवाको लागि निकै राम्रो बजेट आएको बताए । यस वर्ष सरकारले युवा उद्यमशिलता वर्ष घोषणा गरी सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने निर्णय गरेको बताउँदै उनले भने,’हामीहरुको माग सम्बोधन भएको छ, सरकारलाई धन्यवाद, आशा छ यो कार्यन्यवयन हुनेछ,’ उनले भने ।
‘युवा उद्यमशीलता प्रवर्द्धन वर्ष घोषणा, सहुलियतपूर्ण कर्जा दिने भनिएकाे छ । बजेट वक्तव्य प्रस्तुत गर्दै युवा पुस्ताको उद्यमशीलता विकास, व्यवसाय सञ्चालनमा आकर्षण गर्न सीप, पुँजी र प्रविधिमा पहुँच वृद्धि गरिने घोषणा गरेको छ । सरकारले सूचना प्रविधि उद्योगमा वैदेशिक लगानीको न्यूनतम सीमा हटाएको छ । यसले विदेशी लगानी प्राेत्साहित गर्छ । अब कम्पनी दर्ता गर्दा शुल्क नलाग्ने भएकाे छ । रु. १०० अधिकृत पुँजीमै खोल्न सकिने भएकाे छ । यसले हामीलाई उत्साहित गरेकाे छु’ उनले भने ।