काठमाडौं महानगर बजेट : करमा कठोर, कर्मचारी र शिक्षकको तह/भत्ता बढ्यो

<p>काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ को लागि साढे २५ अर्बको बजेट सार्वजनिक गरेको छ । आइतबार आयोजित महानगरको १३ औं नगरसभामा उपप्रमुख सुनिता डंगोलले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँको बजेट सार्वजनिक गरेकी हुन् । उनले कुल बजेटबको चालुतर्फ ८ अर्ब ६१ करोड [&hellip;]</p>

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ को लागि साढे २५ अर्बको बजेट सार्वजनिक गरेको छ । आइतबार आयोजित महानगरको १३ औं नगरसभामा उपप्रमुख सुनिता डंगोलले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँको बजेट सार्वजनिक गरेकी हुन् ।

उनले कुल बजेटबको चालुतर्फ ८ अर्ब ६१ करोड ५३ लाख २८ हजार र पुँजीगततर्फ १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार विनियोजना गरेकी छन् । बजेट सार्वजनिक गर्दै उनले काठमाडौं महानगरपालिकाले धुलो रहित काठमाडौं बनाउनका लागि १ अर्ब रुपैयाँ रकम विनियोजन गरेकी छन् ।

यस्तै, उनले बजेटमार्फ्त विभिन्न कार्यक्रमहरु सार्वजनिक गरेकी छन् । महानगरपालिकाले भाडा कम लिएको भनेर छुट लिएका घरधनीलाई १० प्रतिशत जरिवाना गर्ने भएको छ । महानगरपालिकाले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै न्यून बहाल आम्दानी देखाएर छुट प्राप्त गरेका करदाताले बढी बहाल लिएको पाइए १० प्रतिशत जरिवाना गर्ने भएको जनाएको हो ।

महानगरपालिकाले सबै सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको लागि मासिक भत्ता पनि वृद्धि गरेको छ । महानगरपालिका क्षेत्रभित्रका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुको तलब भत्ता मासिक रुपमा भुक्तानी गर्न रु. ३० करोडको छुट्टै सोधभर्ना कोषको व्यवस्था गरेको छ भने आर्थिक वर्ष २०८०÷८१ मा महानगरपालिकाको समग्र शिक्षा क्षेत्र तर्फको विभिन्न कार्यक्रम संचालन गर्न तथा नियमित क्रियाकलापको लागि काठमाडौं महानगरपालिकाको आन्तरिक श्रोतबाट रु. १ अर्ब ३२ करोड ९ लाख ३३ हजार रकम विनियोजन गरेको छ ।

महानगर क्षेत्रभित्रका सम्पूर्ण विद्यालयको पूर्वाधार विकास तथा शैक्षिक गुणस्तर सुधार गर्दै विद्यार्थीहरुमा आधारभूत प्राविधिक ज्ञान र सीप समेतको प्रबद्र्धन गर्न “गरीखाने शिक्षा, महानगरको इच्छा” योजना अन्तर्गत बिभिन्न कार्यक्रम संचालन गर्न रु ५० करोड विनियोजन गरेको छ ।

यस्तै, सामुदायिक विद्यालय परिसरभित्रको सरसफाई र सौन्दर्यीकरणलाई नियमित र स्वचालित बनाइ विद्यालय क्षेत्र हराभरा र सुन्दर बनाउनको लागि रु ५ करोड रकम विनियोजन गरेको छ भने सामुदायिक विद्यालयमा एक विद्यालय एक नर्स र एक विद्यालय एक सामाजिक सहजकर्ताको व्यवस्थापन गर्न आवश्यक प्रबन्ध मिलाएको छ ।

यस्तै, महानगरक्षेत्रभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुमध्ये हाल कक्षा ८ सम्मका विद्यार्थीहरुलाई मात्र खाजा खर्च उपलब्ध गराउंदै आइरहेकोमा आर्थिक वर्ष २०८०÷८१ देखि डिजिटल हाजिरी प्रमाणित अभिलेखका आधारमा तोकिएको दरमा खाजा सुविधा उपलब्ध गराउन आवश्यक रकम सहितको प्रबन्ध मिलाएको छ ।

महानगरले बजेट मार्फत् सर्वसाधारणलाई सस्तोमा औषधी उपलबध गराउन फार्मेसी सञ्चालन गर्ने भएको छ । महानगरवासीलाई सहुलियत मुल्यमा औषधी उपलब्ध गराउनका लागि “सुलभ फार्मेशी”को स्वर्णिम योजना कार्यान्वयन गर्न ६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका शहरी स्वास्थ्य क्लिनिकहरुको स्तरोन्नति सहित स्वास्थ्य प्रवद्र्धन केन्द्रमा रुपान्तरण गरी महानगरवासीहरुका लागि “सुलभ स्वास्थ्य सेवा, नागरिकलाई टेवा” योजना मार्फत सरल र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउन रु ३५ करोड रकम विनियोजन गरेको छ ।

महानगरले ध्यान, योग, व्यायाम एवं बैकल्पिक तथा परम्परागत आयुर्वेदिक उपचार पद्दतिका माध्यमबाट आरोग्य जीवन सम्बन्धी कार्यक्रम संचालन गर्नका लागि आवश्यक बजेटको प्रबन्ध मिलाएको बजेटमा उल्लेख छ ।

बालबालिकाको स्वास्थ्य उपचारका लागि सरकारी, सामुदायिक वा निजी अस्पताल संगको सहकार्यमा एक निर्दिष्ट नगर अस्पताल संचालनमा ल्याउन रु. १० करोड बजेट विनियोजन गरेको भने नेपालका विभिन्न गाउँपालिकाहरुका लागि मागको आधारमा ३५ वटा एम्बुलेन्स खरिद गरि उपलब्ध गराउन रु.७ करोड रकम विनियोजन गरेको छ ।

यस्तै, काठमाडौं महानगरपालिकाको सहयोगमा संचालित एम्बुलेन्स सेवा (१०२ हटलाइन) संचालन गर्न रु. १ करोड ४४ लाख बजेट विनियोजन गरेको छ भने महानगर भित्रका व्यक्तिगत तथा संस्थागत भान्छाहरुलाई स्वस्थकर बनाई आरोग्यता कायम गर्न “स्वच्छ भान्छा” कार्यक्रमका लागि रु. ३ करोड ५० लाख रकम विनियोजन गरेको छ । महानगरको समग्र स्वास्थ्य कार्यक्रम तर्फ कुल रकम ९२ करोड ६६ लाख ४४ हजार रुपैयाँ विनियोजन गरेको छ ।

यस्तै, काठमाडौं महानगरपालिकाले स्थानीय पेय पदार्थलाई ब्राण्डिङ गर्ने भएको छ । स्थानीय समुदायमा प्रचलनमा रहेको स्थानीय पेय पदार्थलाई निजी व्यवसायीको सहकार्यमा ब्राण्डिङ गर्ने कार्यको लागि आवश्यक रकम विनियोजन गरेको बजेटमा उल्लेख छ ।

महानगरले १०० वटा मुख्य चोक तथा क्षेत्रहरूमा हाईमास्ट लाइट जडान गर्नको लागि ३० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । ‘उज्यालो शहर, मेरो महानगर’ योजना अन्तर्गत महानगरका सबै सडक तथा गल्लीमा सडक सो लाइट जडान गर्ने महानगरपालिकाले बताएको छ ।

महानगर क्षेत्रभित्रका सम्पूर्ण सडक तथा पेटीमध्ये डीपीआर भएका सडक तथा पेटीहरू मर्मत तथा निर्माण गरी ‘धुलो रहित काठमाडौं’ योजनालाई कार्यान्वयन गरिनेछ । यस योजना अन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गर्न एक अर्ब रकम छुट्याएको छ ।

सडक निर्माण कार्यलाई थप व्यवस्थित बनाउन आफ्नै आस्फाल्ट प्लान्ट स्थापना सहित पूर्वाधार एम्बुलेन्सलाई प्रभावकारी रूपमा सञ्चालन गर्न महानगर २५ करोड रकम विनियोजन गरेको छ । यसै गरी महानगर क्षेत्रभित्रका प्रमुख सडकहरूमा फाइवर तथा अन्य केवल विस्तारको लागि आफ्नो उपयोगी डक्ट निर्माण गरी साझा पूर्वाधारको अवधारणा अनुरूप कार्य अगाडी बढाउन १० करोड बजेट विनियोजन काठमाडौं महानगरले छुट्याएको छ । महानगरको सार्वजनिक पूर्वाधार निर्माण तथा सुधारतर्फ गत आर्थिक वर्षको क्रमागत योजना सहित ७ अर्ब ३४ करोड ६४ लाख ७१ हजार रकम विनियोजन गरेको छ ।

यस्तै, काठमाडौं महानगरपालिकामा लामो समयदेखि कार्यरत कर्मचारीहरुको वृत्तिविकास सम्बन्धमा बागमती प्रदेश सरकारबाट जारी भएको स्थानीय तहमा कार्यरत कर्मचारीहरुको गठन र संचालन ऐन अनुसार विभिन्न तहमा कार्यरत कर्मचारीहरुको तह वृद्धि गरी सोको लागि आवश्यक पर्ने रकमको प्रबन्ध मिलाएको बजेटमा उल्लेख छ ।

महानगर क्षेत्रभित्रका युवा जनशक्तीलाई “श्रम बैंक” स्वर्णिम योजनामा आबद्ध गराई सिप तथा क्षमता विकास मार्फत रोजगारीको अवसर सिर्जना गर्न रु. १० करोड रकम विनियोजन गरेको छ ।

[pdf id=420418]

Share News