काठमाडौं । एनआईसी एशिया बैंकले देशभरका शाखा कार्यालयका लागि मोटरसाइकल खरिद गर्ने भएको छ ।
बैंकले २०१ वटा मोटरसाइकल खरिद गर्ने गरी बाेलपत्र आह्वान गरेकाे छ । कार्यालय प्रयोजनका लागि २०१ वटा मोटरसाइकल खरिद गर्न लागेको बैंकले जनाएको छ ।
बैंकले मोटरसाइकल आपूर्ति र डेलिभरीका लागि इच्छुक कम्पनी तथा फर्मबाट बोलपत्र पेश गर्न आग्रह गरेको छ । इच्छुक कम्पनीले बैंकको केन्द्रिय कार्यालय थापाथली काठमाडौंमा साउन ३ गतेसम्म बोलपत्र पेश गर्नु पर्नेछ ।
बैंककाअनुसार, बोलपत्रको ढाँचा खरिदका लागि कम्पनीले ५ हजार रुपैयाँ शुल्क तिर्नु पर्नेछ । कम्पनी दर्ता भई कम्तिमा ३ वर्ष काम गरी ३ वटा संस्थासँग कारोबार गरेका माेटरसाइकल विक्रेता कम्पनीले मात्रै बाेलपत्र पेश गर्न पाउने छन् । त्यसैगरी, आर्थिक वर्ष २०७८/७९ मा ५ करोड रुपैयाँ बराबरको वार्षिक कारोबार गरेको कम्पनीले मात्रै बाेलपत्र पेश गर्न सक्ने बैंकले जनाएको छ ।
यस्तै, सवारी साधनको आपूर्ति र डेलिभरी गर्न इच्छुक कम्पनीले आर्थिक वर्ष २०७८/७९ सम्म कर तिरेको हुनु पर्नेछ ।