काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले संघिय राजधानी काठमाडौं उपत्यकामा सार्वजनिक ‘द्रुत बस’ र्यापीड ट्रान्जीट (बीआरटी) सेवा सञ्चालन गर्ने भएको छ । राजधानी उपत्यकामा धेरै ट्राफिक जाम र सार्वजनिक यातायातमा सवार ब्यक्ति समयमा गन्तब्य पुग्न कठिन भएपछि द्रुत बस सेवा सञ्चालन गर्न लागिएको मन्त्री प्रकाश ज्वालाले बताए ।
‘भक्तपुरको सूर्यविनायकदेखि रत्नपार्कसम्म पहिलो चरणमा द्रुत बस सेवा सञ्चालनको तयारी गरिरहेका छौ’ मन्त्री ज्वालाले भने, ‘आगमी असोज १ देखि भक्तपुरको सूर्यविनायकदेखि रत्नपार्कसम्म द्रुत बस सेवा सञ्चालन हुन्छ, त्यसपछि अन्य रुटमा पनि चलाउन थाल्छौ ।’
तत्कालका लागि द्रुत बस सेवा अध्याधिक जामको समय विहान ९ देखि ११ र साँझ ४ देखि ६ बजेसम्म सञ्चालन हुने भएको छ । त्यसका लागि ४० सिटभन्दा माथीका करिव २५ बस सञ्चालनमा ल्याउने तयारी गरेको मन्त्रालयका सचिव केशव शर्माले बताए ।
‘ठ्याक्कै बस र्यापिट ट्रान्जिट सिस्टम (विराटी) त होइन, तर हाम्रो नेपाली मोडेलको र्यापिट बस सर्भिस हो’ सचिव शर्माले भने, ‘सडकको लेनदेखि बसको आकार नै फरक हुनेगरी द्रुत बस सेवा सञ्चालनको तयारीमा जुटेका छौ ।’
द्रुत बस सेवा सञ्चालनका लागि छुट्टै लेन, बसको कलर नै फरक हुने भएको छ । द्रुत बस सेवाको सडक लेन बनाउन मन्त्री ज्वालाले सडक विभागलाई र बसको आकार प्रकार, सफाइ र रोड प्रमिटको ब्यवस्था मिलाउन यातायात ब्यवस्था विभागलाई निर्देशन दिइसकेका छन् ।
पहिलो चरणमा भक्तपुरको सूर्यविनायकदेखि रत्नपार्कसम्म सञ्चालन हुनेछ । अत्याधिक जामको बेला सुर्य विनायकदेखि रत्नपार्कसम्म सार्वजनिक यातायातमा आउँदा १ घण्टा ३० मिनेट लाग्ने गरेको छ । ‘द्रुत बस सेवा सञ्चालन भएपछि अध्याधिक जामको बेला पनि ४५ मिनेटमा पुग्न सकिने गरी यातायात सञ्चालन गर्दैछौ’ यातायात ब्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले भने ।
दु्रत बस सेवाका लागि मन्त्रालयले मोवाइल एप समेत बनाउने जनाएको छ । द्रुत बस कुन समयमा कुन ठाउँमा आइपुग्छ त्यसको जानकारी एपबाट हेर्न मिल्नेछ ।
भक्तपुरको सूर्यविनायकदेखि रत्नपार्कसम्म करिब १३ किलोमिटर दूरीमा सुधारिएको बस सेवा तत्काल संचालनको ब्यवस्था मिउलान प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले यसअघि नै स्वीकृति दिएको छ ।
प्रधानमन्त्री कार्यालयबाट स्वीकृत पाएपछि मन्त्रालयले आवश्यक तयारी गरेर असोज १ गतेबाट सञ्चालनको तयारी गरेको हो ।
सरकारले सुधारिएको बस सेवा सन्चालन गर्नका लागि गत वैशाख ११ गते कार्यदल गठन गरेको थियो । कार्यदल गठन गरेपछि जेठ २१ देखि असार ५ गतसम्म अध्ययन भएको थियो ।
हाल कोलम्बियाको बोगाटा, अस्ट्रेलियाको सिड्नी, ताइवानको ताइपेई, बेलायतको लन्डन, टर्कीको इस्तानबुल, पाकिस्तानको पेसावरलगायत ठूला सहरमा यस्ता बस सेवा सञ्चालनमा छन् ।