काठमाडौं । पछिल्ला वर्षहरुमा नेपाली सडकमा विद्युतीय सवारीको उपस्थिति उल्लेख्य रूपमा बढेको देखिन्छ । जसले पेट्रोल र डिजेलबाट चल्ने गाडीको व्यवसायलाई चुनौति थपिरहेको छ । अर्कोतर्फ, अर्थतन्त्रमा देखिएको शिथिलता र छिटाछिटो फेरिने सरकारी नीतिले पनि अटोमोबाइल्स व्यवसायलाई प्रभावित गरिरहेको छ । यस क्षेत्रमा संलग्न व्यवसायीहरु सकसपूर्ण अवस्थामा रहेको बताउँने गरेका छन् । नेपालमा अटोमोबाइल्सको बजार, अबको सम्भावना, सरकारी नीति र व्यवसायीका समस्या आदि विषयलाई केन्द्रित गरेर नारायणी अटो बिजनेस कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनुपकुमार बरालसँग विकासन्युजका लागि राजिव न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश :
नेपाली बजारमा अटोमोबाइल्सको व्यापारमा सुस्तता आएको चर्चा छ । नारायणी अटो बिजनेसको अवस्था चाहिँ कस्तो छ ?
अटो बजार खस्किएको अवस्थाबाट नारायणी अटो पनि अछुतो छैन । आर्थिक मन्दीले अटो व्यवसायलाई ठूलो चोट पारेको छ । हामी पनि त्यही क्षेत्रका परिवारको सदस्य भएकाले खराब अवस्था बाटै गुज्रिरहेका छौं ।
नेपाली बजारमा विद्युतीय सवारीप्रतिको आकर्षण असाध्यै बढेको छ । सुजुकीले भने अहिलेसम्म विद्युतीय सवारी ल्याएको छैन । विद्युतीय सवारीको सन्दर्भका कम्पनीले के भनिरहेको छ ?
सुजुकी भारतको नम्बर वान गाडी निर्माता कम्पनी हो । यसले आफ्नो यात्रा निरन्तर राख्छ । पाइपलाइनमा धेरै गाडीहरू छन् ।
हामीले नेपालमा सुजुकीको विभिन्न मोडलका गाडीहरू ल्याएर लन्च ग रिरहेका छौं । केही समय अगाडि मात्रै जिम्नी र फ्रोन्क्स गाडी सार्वजनिक गरेका छौं ।
पछिल्लो समय धेरै कम्पनीहरू ईभीतर्फ लम्कँदै गर्दा सुजुकीले पनि ईभीको योजना बनाइ रहेको होला । हाम्रो कम्पनीको पनि ईभी गाडी आउँछ । तर, कहिले आउँछ भनेर चाहिँ भन्न सक्ने अवस्था छैन । यसको लागि समय लाग्छ ।

नेपाली ग्राहकको रोजाइमा कस्ता गाडि पर्ने गरेको पाउनुभएको छ ?
ग्राहकको रोजाइमा परिवर्तन आएको छ । पहिला साना गाडीहरू धेरैको रोजाइमा पथ्र्यो । अहिले एसयूभी लक्षित ग्राहक धेरै भएको पाएका छौं । किनभने, सानादेखि ठूला गाडीको मूल्य वृद्धि भयो । एकदमै सानो कारको मूल्य २५/२६ लाखदेखि ४० लाख रुपैयाँसम्म पुग्यो । ४० लाख रुपैयाँ हालेर सानो कार किन्नु भन्दा त्यहीँ हाराहारीको मूल्यमा एसयूभीका गाडी पाइने भएकाले यस प्रति ग्राहकको आकर्षण बढेको छ । यस सँगसँगै ग्राहको क्रेज इभी प्रति पनि बढ्दै गएको छ । यो बजारको माग हो ।
महँगो वा सस्तो गाडीप्रति उपभोक्ताको रूचि वा छनोटको विधि के पाउनुभएकाे छ ?
उपभोक्ताले दुई वटा विधिबाट गाडीको छनोट गरेको पाइन्छ । एउटा बजेट र अर्को आवश्यकता । आफ्नो आवश्यकता अनुसारको गाडी र त्यसमा अधिकतम फिचर भयो भने पुग्छ । गाडी छान्ने तरिका नै सबै भन्दा पहिलो ग्राहकको आवश्यकता हुन्छ । मेरो परिवार यति जान छन् । यति सिटर गाडी चाहिन्छ । अथवा ४ वा ५ सिटर गाडी भए हुन्छ । मेरो यति बजेटसम्म भए हुन्छ । र, मेरो घरमा राख्ने स्पेश यत्रो छ । आफ्नो आम्दानी यस्तो छ भन्ने कुरामा निर्भर हुने रहेछ । उहाँहरूलाई सुहाउँदो गाडी किन्नको लागि हामी पनि सुझाव दिन्छौं । बैंक फाइनान्सले पनि गाडी किन्न सकिने भएकाले त्यसको लागि पनि हामी सहयोग गर्छौं ।
अटोमोबाइल्स बजारप्रतिको सरकारको नीतिलाई कसरी मूल्याङ्कन गर्नुभएको छ ?
सरकारले पछिल्लो समय विद्युतीय सवारी किन्न प्रोत्साहन गरिरहेको छ । यसअघि कहिल्यै पनि सरकारले सवारी किन्न प्रोत्साहन गर्दैनथ्यो । ईभी गाडीको आयातमा भन्सार छुट लगायतका सेवा सुविधा दिइरहेको छ । आइसीई इन्जिनमा लाग्ने भन्सार ईभीमा पनि लगाएको भए ईभीका गाडी किन्नै नसक्ने अवस्था हुन्थ्यो । बैंकले ईभीको सवारीमा ८० प्रतिशतसम्म फाइनान्स गर्दै आएको छ । त्यो चाहिँ सरकारले गरेको सपोर्ट हो ।

नेपाली बजारमा ईभी गाडी आएसँगै इन्धनबाट चल्ने गाडीको व्यापारमा गिरावट आएको हो ?
ईभी नेपाली बजारमा आएपछि इन्धनबाट चल्ने गाडी व्यापारमा कमी आएको छ । किनभने यस बीचमा अर्थतन्त्रमा समस्या आयो । सरकारले गाडी आयातमा पनि प्रतिबन्ध लगायो । अहिले आयात खुलेको छ, नयाँ विशेषताका गाडीहरू आउन थालेका छन् । त्यो बेला ईभी गाडी भित्रिए । मान्छेको ध्यान ईभीतिर भयो । भन्सार विभागको डाटाले ६० प्रतिशतसम्म ईभीको गाडी भित्रिएको देखाउँछ । त्यो संख्यामा ईभी आउँदा इन्धनका गाडीलाई धक्का परेको हो । चालु आर्थिक वर्ष २०८०/८१ को बजेट भाषणपछि इन्टर्नल कम्बसन (आइसी) इन्जिनका गाडीलाई पनि ब्याक हुन सजिलो भएको छ ।
आइसी इन्जिनमा खर्बौं रुपैयाँ लगानी भएको छ । ईभीमा भर्खर लगानीको सुरुवात हुँदै छ । त्यो बामे सर्दैै गरेको इन्डस्ट्री हो । तर, आइसी इन्डस्ट्रीको इतिहास ६०/७० वर्ष पुरानो छ । यसलाई आँखा चिम्म गरेर बस्ने अवस्था हैन । यद्यपी, हामीले प्रविधिलाई आत्मसाथ गर्नुपर्छ । नेपालको भौगोलिक अवस्था बाटोको अवस्था, नेपालमा हुँदै गरेको पूर्वाधारको विकास यी सबै कुरालाई मध्यनजरमा राखेर ग्राहकले के चाहान्छन, आवश्यकता के हो ? त्यसलाई पहिचान गरेर ग्राहकलाई सन्तुष्ट बनाइ प्रडक्ट बजारमा दिनुपर्छ ।
अहिले नेपाली अटो बजारले भोगिरहेको मूख्य समस्या के हो ?
नीतिगत कारणले गर्दा व्यापार खस्किएको छ । अर्थतन्त्रमा आएको शिथिलताले पनि ब्यापार घटाउन सघायो ।
एउटा डिलरले करौडौं रुपैयाँ बराबरको ब्याजदरको भार बोक्नु परेको छ । उनीहरूले सबै सम्पत्ती राखेर ऋण लिएका छन् । तर, कारोबार भने भएको छैन । ऋणको ब्याज बढेर करोडौं भएको छ । बैंकले घाटामा गएको ठाउँमा लगानी गर्दैन । राष्ट्र बैंकले जोखिम भार घटाएको छ । कारोबार अनुसारको मात्र लगानी गर्छौं भनेर बैंकहरु भनिरहेका छन् । आयात प्रतिबन्ध भएको बेला पनि कारोबार भएन । त्यसपछि, वित्तीय संस्थामा देखिएको तरलता अभावले पनि कारोबार हुन सकेन । बैंकहरुले लगानी गर्दै गरेनन् । चालु आर्थिक वर्षको बजेटपछि गाडीको व्यपारमा केही चहल पहल देखिन थालेको छ । हामी आशावादी छौं, घाम लागेपछि उज्यालो हुनेछ भन्ने आशामा छौं ।

गाडीमा आयात प्रतिबन्ध लागेको र अर्थतन्त्रमा शिथिलता आएको कारण कतिपय शोरूम बन्द भएका थिए । अहिलेको अवस्था चाहिँ कस्तो छ ?
मेरो आफ्नै कम्पनीको कुरा गर्ने हो भने सोरुममा १८/२० महिनादेखि गाडी थिएन । भएको स्टक सकियो । उठ्नुपर्ने पैसा उठाएर बैंकमा ब्याज ति¥यौं । धेरै व्यपारीकोहरुको बैकिङ च्यानल नै भत्कियो । बैंकसँगको च्यानल नै बिग्रिएपछि अन्य लगानी कहाँबाट जुटाउने ? नेपालका बैंकहरु फ्रेन्ड्ली छैनन् । यसमा राष्ट्र बैंकको पनि भूमिका छ । कारोबार नगर्दा चाहिँ उहाँहरू कारोबार गर्नु पर्याे भन्दै आउनुहुन्छ । ८-९ महिना आयात बन्द हुँदा र तरलता अभाव हुने वित्तिकै तपाईंको घर लिलाम गर्नु पर्याे भन्दै घर अगाडी सेक्युरेटी पठाउनुहुन्छ । बैंकहरु कस्टुमर तथा व्यवसाय मैत्री हुनुप¥यो । उद्योगी व्यवसायीहरू अर्बौैं घाटामा गएको बेला खर्बौं रुपैयाँ बैंकहरुले नाफा गर्छन् । पारस्पारिक लाभ हुने गरी काम नगर्ने हो भने कुनै पनि उद्योग फस्टाउँदैन ।
केही अघिसम्म कतिपय कम्पनीले कर्मचारीलाई तलब नै दिन नसक्ने अवस्थामा छौं भनेका थिए । तपाईंको कम्पनीको अवस्था चाहिँ कस्तो छ ?
मेरो कम्पनीमा यस्तो अवस्था छैन । मेरो कम्पनीमा करिब ५०/६० जना काम गर्नुहुन्छ । आजका दिनसम्म जस्तोसुकै जोखिम आए पनि कर्मचारीको तलब रोक्नु परेको छ्रैन । बरु कम्पनी करोडौं रुपैयाँ घाटामा होला । कर्मचारीलाई चाहिँ समयमै तलब दिदै आएका छौं । उहाँहरू कोही पढ्दै हुनुहुन्छ, केही साथीहरूले बाआमालाई ल्याएर पाल्नु भएको छ । उहाँहरूको पहिलो स्रोत नै जागिर हुन्छ । मैले पनि जागिर नै खाएर आएको भएर होला, मैले उहाँहरूको मर्मलाई बुझेको छु । अहिलेसम्म तलब रोक्नु परेको छैन ।
भिडियाेमा हेर्नुहाेस्