
काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेड र भिजि इम्पेक्स (जिडब्लुएम नेपाल)बीच सहुलियत ब्याजदरमा विद्युतीय तथा इन्धनमा आधारित सवारी कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
उक्त समझदारी अनुसार बैंकले भिजि इम्पेक्स तथा उक्त कम्पनीका आधिकारीक बिक्रेताले बिक्री गर्ने इन्धनमा आधारित ह्याभल ब्राण्डका एसयुभी, पावर ब्राण्डका पिकअप तथा ओआरए ब्राण्डका विद्युतीय सवारी साधन खरिद गर्न चाहने नेपाली नागरिकहरुले आवश्यक कागजात तथा विवरण सहित बैंकको शाखा कार्यालयमा निवेदन दिए पश्चात ३ कार्य दिन भित्र बैंकले नियमानुसार सवारी साधन कर्जा प्रवाह गर्ने सम्झाैता गरेकाे छ ।
उक्त समझदारी पत्रमा बैंकका साना तथा मझौला कर्जा विभाग प्रमुख रुपेन्द्र वाग्ले र भिजि इम्पेक्सका उपाध्यक्ष रुपेश शर्मा भट्टले हस्ताक्षर गरेका छन । ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न किसिमका समय सान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको बैंकले बताएकाे छ ।
ग्लोबल आइएमई बैंकका ३५० शाखा, ३६९ एटिएम, ३२२ शाखा रहित बैंकिङ्ग सेवा, ६४ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ११०० भन्दा बढी सेवा केन्द्रबाट ४० लाखभन्दा बढी ग्राहकहरू माझ सेवाप्रदान गर्दै आएको छ ।