काठमाडौं । बजारमा दशैंको चहलपहल सुरु भइसकेको छ । उद्योगी व्यवसायीहरु आफुले उत्पादन गरेको वस्तु बिक्रीका लागि मार्केटिङ गरिरहेका छन् भने ग्राहकहरु चाडपर्वमै नयाँ सामान खरिद गर्न चाहन्छन् । यतिखेर अटो बजारमा पनि नयाँ–नयाँ मोडलका सवारीहरु भित्र्याएर फरक किसिमको रौनक सिर्जना भइरहेको छ । दशैंका लागि चारपाँग्रे गाडीका बिक्रेताहरुले पनि विभिन्न किसिमका अफरहरु ल्याएर ग्राहकलाई तानिरहेका छन् । ग्राहकलाई आफ्ना सवारी साधनमा आकर्षण गर्न बिक्रेता कम्पनीहरुले नयाँ गाडी खरिदमा गाडी उपहार, नगद छुटदेखि विदेश भ्रमणसम्मका अफरहरु सार्वजनिक गरेका छन् ।
आइशरको गाडी किन्दा मिनी इभी कार पाइने
आइशर गाडीको आधिकारिक विक्रेता बतास एमएडब्लु कमर्शियल भेहिकल (बी.एम.सी.वी.) ले नयाँ गाडी खरिद गर्नेमध्येबाट एक जनालाई मिनी इभी कार उपहार दिने घोषणा गरेको छ । कम्पनीले दशैं र तिहारको अबसरमा नयाँ आइशर गाडी खरिद गर्नेमध्येबाट एक जनालाई उक्त कार दिने घोषणा गरेका हो ।
यस्तै, कम्पनीले घोषणा गरेको चाडपर्वको स्कीममा आइशर बस, ट्रक तथा ट्रिपरकाको खरिदमा सुनको बहार, टुर प्याकेज, यामाहा बाइक र स्कुटर, सवारी साधनको फ्री सर्भिसिङ र स्पेयर पार्ट्स अथवा फ्री ईएमआई मध्येबाट ग्राहकहरुले रोजेर उपहार लिन पाइनेछ । यस्तै, कम्पनीले उक्त उपहार बाहेक चालकलाई पाँच लाख रुपैयाँ र २५ लाख रुपैयायँको आकस्मिक बीमा, १ वर्षको सवारी बीमा तथा १ आर्थिक वर्षको सम्पूर्ण सडक करमा छुट दिएको छ ।
निसानका गाडी किन्दा पौने १४ लाख छुट
नेपालका लागि निसान गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्पले दशैं, तिहार अफर सार्वजनिक गरेको छ । कम्पनीले निशानको गाडी खरिद गर्दा १३ लाख ७५ हजार रुपैयाँसम्म छुट सुविधाको घोषणा गरेको हो ।
कम्पनीले निसान फेष्टिभ ड्राइभ २०८० भन्दै १३ लाख ७५ हजार २२६ रुपैयाँसम्मको अफर योजना ल्याएको हो । उक्त अफरसँगै कम्पनीले नगद छुट मात्र ८ लाखसम्म हुने जनाएको छ । यस्तै एक वर्षको बीमा र एक वर्षको सडक कर पनि निःशुल्क प्रदान गर्ने जनाएको छ ।
टाटाका गाडी किन्दा ७ लाख ३० हजार छुट
दशैं, तिहारमा टाटाका गाडी किन्दा ७ लाख ३० हजार रुपैयाँसम्म छुट पाइने भएको छ । नेपालका लागि टाटा गाडीको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङले उक्त अफर सार्वजनिक गरेको हो ।
कम्पनीले सार्वजनिक गरेको अफरअन्तर्गत टाटा आइस रेञ्जका गाडीको खरिदमा ग्राहकहरुले ७ लाख ३० हजार रुपैयाँसम्मको फाइदा प्राप्त गर्न सक्नेछन् । त्यस्तै, नगद छुट, वार्षिक सवारी करमा छुट, एक वर्षको बीमा सुविधा, एक्सचेन्ज बोनस र एक्सेसरिजहरु पनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
हुन्डाईको गाडी किन्दा ६ लाखसम्म छुट
हुन्डाई अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले चाडपर्व लक्षित अफर ‘फेष्टिभ डिलाइट–२०८०’ योजना सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको उक्त योजना अनुसार हुन्डाईका गाडी किन्ने ग्राहले ६ लाख रुपैयाँसम्म छुट पाउनेछन् ।
उक्त छुटसँगै कम्पनीले हुन्डाइ फेष्टिभ डिलाइट २०८० अन्तर्गत हुन्डाईका कुनै पनि गाडीको खरिदमा स्क्रयाच कार्डमार्फत थप एक लाख रुपैयाँसम्म ग्राहकले जित्न सक्नेछन् । एक वर्षको लागि निःशुल्क सवारी बीमा र सडक कर ग्राहकले पाउनेछन् ।
यस्तैगरी, कम्पनीले क्रेटा गाडी खरिदमा २ लाख नगद छुटको घोषणा गरेको छ । कम्पनीले क्रेटा गाडीको खरिदमा स्क्रयाच कार्डमार्फत थप एक लाख रुपैयाँ, एक वर्षको लागि निःशुल्क सवारी बीमा र सडक करमा छुटको घोषणा गरेको छ ।
फोटोनको गाडी किन्दा थाइल्यान्डदेखि बालीसम्म घुम्न पाइने
दशैं तिहारमा फोटोनका गाडी किन्नेहरुले थाइल्यान्डदेखि इन्डोनेसियाको बालीसम्म घुम्न पाउने भएका छन् । नेपालका लागि फोटोन गाडीको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले दशैं, तिहारका लागि उक्त अफर सार्वजनिक गरेको हो ।
कम्पनीले सार्वजनिक गरेको अफर अन्तरगत फोटोनका जुनसुकै गाडी किन्नेहरुले उपहार पाउनेछन् । फोटोनका गाडी बुकिङ गर्नेहरुमध्ये कम्पनीले एक जनालाई बाली र एक जनालाई थाइल्याण्ड घुम्न जान अवसर घोषणा गरेको हो । यस्तै, कम्पनीले गाडी खरिद गर्नेमध्ये एक जनालाई स्मार्ट टिभी, २ जनालाई स्मार्टवाच, २ जनालाई रेफ्रिजिरेटर, २ जनालाई वासिङ मेसिन र ३ जनालाई मोबाइल फोन प्रदान गर्ने जनाएको छ ।
एमजीका गाडी किन्दा २ लाखसम्म फाइदा
एमजी गाडीको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले चाडपर्व लक्षित अफर योजना सार्वजनिक गरेको छ । मोरिस ग्यारेज (एमजी) का विद्युतीय गाडी किन्ने ग्राहकले २ लाख रुपैयाँसम्म फाइदा पाउने भएका छन् ।
विद्युतीय गाडीको मात्र बिक्री गर्दै आएको कम्पनीले नयाँ गाडी खरिदमा स्पेयर टायर, चार्जर र एक वर्षको बीमा निशुल्क दिने घोषणा गरेको हो ।
कम्पनीले घोषणा गरेको उक्त अफर २ लाख रुपैयाँ बराबरको भएको जनाईएको छ ।