
एजेन्सी । चीनको विद्युतीय सवारीसाधन (इभी) उत्पादन गर्ने कम्पनी बिवाइडीले एक महिनामै ३ लाख थान इभी बेचेर नयाँ कीर्तिमान कायम गरेको छ ।
विवाइडी इभी उत्पादन गर्ने चीनका प्रमुख कम्पनीमध्ये पर्छ । यो अग्रणी चिनियाँ इभी निर्माताले इभी बिक्रीमा नयाँ कीर्तिमान बनाएको हो ।
कम्पनीले गत अक्टोबरमा ३ लाखभन्दा बढी युनिट बिक्री गरेको छ । रिपोर्टअनुसार यस्तो रेकर्ड राख्ने यो विश्वको पहिलो कम्पनी हो । जसले लगातार छैटौँ महिनाको बिक्रीमा यो कीर्तिमान बनाएको हो ।
विवाइडीले इभी बजारमा आफ्नो प्रभूत्व कायम राखेको छ । कम्पनीले गत वर्षको तुलनामा ३८ प्रतिशतले वृद्धिदर हासिल गरेको छ ।
बिवाइडीले अक्टोबरमा ३ लाख १ हजार ९५ युनिट इभी बेचेको छ । यसमा ११ हजार ५ सय युनिट हाई इन्ड डेन्जा इभी समावेश छन्।
सीएनईभी पोस्टको प्रतिवेदनअनुसार विश्वस्तरमा हुने निर्यात तथा बिक्रीको कुरा गर्ने हो भने कम्पनीले ३० हजार ५ सय २१ सवारीसाधन बिक्री गरेको छ ।
यहाँ अर्को तथ्य पनि बाहिर आएको छ । जसमा प्लगइन हाइब्रिड कारभन्दा शुद्ध विद्युतीय कारको बिक्री बढी छ । प्रतिवेदनका अनुसार हाइब्रिड कारको तुलनामा शुद्ध विद्युतीय कार ६० प्रतिशत बढी खरिद भइरहेको छ । जबकि, प्लगइन हाइब्रिड कारमा १९ प्रतिशतको वृद्धि भएको छ ।
बिवाइडीले सन् २०२३ सम्ममा ३० लाख युनिट इभी बेच्ने लक्ष्य राखेको छ । वर्षको अन्तिम दुई महिना अझै बाँकी रहेकाले कम्पनीले यो कार्यसम्पादन कायम राख्न प्रयास गर्ने छ ।
इभीको यति ठूलो संख्यामा बिक्रीले भविष्यको यातायातको माध्यम पनि संकेत गर्छ । हाल बिवाइडी इभी बिक्रीमा विश्वको सबैभन्दा ठूलो कम्पनीका रूपमा उदाइरहेको छ।
चीनमा बिक्री हुने प्रत्येक पाँच नयाँ कारमध्ये दुई प्लगइन कार छन्। यसको बजार हिस्सा ३९ प्रतिशत पुगेको छ । ७ लाख ७० हजार युनिट इलेक्ट्रिक कारमध्ये ५ लाख कार पूर्णरूपमा इलेक्ट्रिक कार थिए भने २ लाख ५० हजार कार हाइब्रिड थिए।
विश्वस्तरमा पनि चीन इभी उत्पादन र बिक्रीमा अगाडि छ । इभीको विश्वव्यापी बिक्रीको ६० प्रतिशत चीन एक्लैले ओगटेको छ।