काठमाडौं । अटोमोबाइल व्यवसायीहरुको छाता संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालकाे अध्यक्ष करण चौधरीलाई बनाउने सहमति भएको छ । मंगलबार बसेको तीन जना उम्मेदवारहरूबीचको बैठकले चौधरीलाई नै अध्यक्ष बनाउने सहमति भएको हो ।
नाडाका अध्यक्ष ध्रुब थापाका अनुसार नाडाको अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका आकाश गोल्छा र प्रकाश कपुरीको समर्थनमा चौधरी आगामी कार्यकालका लागि अध्यक्ष बन्ने भएका हुन् ।
‘अब नाडाको अध्यक्ष करणजी बन्नुहुन्छ, दुवै उम्मेदवारले उहाँलाई नै समर्थन गर्नुभयो, अब दुई वर्षको कार्यकालका लागि उहाँ नै अध्यक्ष बन्नुहुन्छ,’ अध्यक्ष थापाले भने ।
पुस २० र २१ गते हुने नाडाको ४७औं साधारण सभाबाट चाैधरी अध्यक्षमा निर्विरोध निर्वाचित हुनेछन् ।
अध्यक्षका आकांक्षीहरूले निर्वाचनको पनि तयारी गरेपछि अध्यक्ष थापाले सहमतिका लागि आज बैठक बोलाएका थिए । उनले बोलाएको बैठकले सफलता पनि पाएको छ ।
अर्थतन्त्रमा एक किसिमको मन्दी सिर्जना भइरहेको अहिलेकाे अवस्थामा निर्वाचन नगरेर सहमतिबाटै अगाडि बढ्नु पर्ने अडान थापाको थियो । त्यसैका लागि उनले आजकाे बैठक बोलाएका थिए ।