काठमाडौं । अटोमोबाइल व्यवसायीहरुको छाता संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्षका उम्मेदवार आकाश गोल्छाले अर्को पटक आफू नै नाडाको अध्यक्ष बन्ने बताएका छन् ।
मंगलबारको बैठकले करण चौधरीलाई अध्यक्ष बनाउने सहमति गरेपछि अर्को पटक आफूलाई नै अध्यक्ष बनाउने सहमति भएको उनले बताएका हुन् ।
अर्को पटक आफूलाई सहयोग गर्ने प्रतिवद्धता पाएपछि आफूले समर्थन गरेको उनको भनाइ छ ।
‘सहमतिमा एक जनाले छोड्नु नै थियो, करण सर अघिल्लो निर्वाचनमा उम्मेदवार बनेर पराजित भएको र यस पटक पनि इच्छा देखाएकोले सहमतिमा हामी ब्याक भएका हौं, पूर्व अध्यक्षहरूले पनि मिलेर जानु पर्छ भनेर सुझाव दिनुभयो, अहिले अर्थतन्त्र समस्यामा परेको बेला मिलेर नै जानुपर्छ भनेपछि हामी सहमतिमा गएका हौं,’ गोल्छाले विकासन्युजसँग भने ।
उनले नयाँ बन्ने कार्यसमितिमा आफू पनि रहने बताएका छन् । तर, पद भने उनले खुलाउन मानेनन् । सम्भवतः उनी वरिष्ठ उपाध्यक्ष बन्ने चर्चा पनि छ ।
गोल्छासँगै करण चौधरी र प्रकाश कपुरी नाडाको अध्यक्ष बन्ने प्रतिस्पर्धामा थिए । तर, अन्ततः गोल्छा र कपुरीले चौधरीलाई समर्थन गरेका हुन् ।