सहकारी संकटकै बेला तीन गुणाले बढ्यो बचत र ऋण, कर्मचारीले धमाधम जागिर छाड्दै

काठमाडौं । पछिल्लो समय सहकारीमा समस्या सिर्जन भएको भनिए पनि सरकारको तथ्यांकले भने बचत र ऋण बढेको देखाएको छ । बिहीबार अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक गरेको २०८१/८२ को आर्थिक सर्वेक्षण अनुसार २०८१ फागुनमा सहकारी क्षेत्रमा ११ खर्ब २५ अर्ब २८ करोड वचत परिचालन भई ९ खर्ब २३ अर्ब ४७ करोड कर्जा प्रवाह भएको छ । 

जुन गत वर्षको तुलनामा तीन गुणा बढी नै हो । गत आर्थिक वर्ष २०८०/८१ को आर्थिक सर्वेक्षणमा ४ खर्ब ७८ अर्ब ११ करोड बचत र ४ खर्ब ५ अर्ब ३ करोड कर्जा प्रवाह भएको थियो । 

आर्थिक सर्वेक्षण अनुसार २०८१ फागुनसम्ममा सहकारी संस्थाको संख्या ३२ हजार ९६५ रहेको छ । यस अवधिसम्म सेयर सदस्य संख्या १ करोड ९ लाख ५ हजार १९२ र सेयर पुँजी १ खर्ब ४३ अर्ब २९ करोड रहेको छ।

२०८० को फागुनसम्ममा भने कुल ३१ हजार ४५० सहकारी, ७३ लाख ८३ हजार ५२८ सेयर सदस्य, ९४ अर्ब ७२ करोड सेयर पुँजी थियो । 

यो अवधिमा सहकारीमा आबद्ध कर्मचारीले भने धमाधम काम छोडेको तथ्यांकबाट देखिन्छ । २०८१ असारसम्म सहकारी क्षेत्रमा ९४ हजार २ जना व्यक्ति प्रत्यक्ष रोजगार रहेकोमा २०८१ फागुनसम्म यस्तो रोजगार ९० हजार ६५ रहेको छ । सहकारी तथा गरिबी सूचना व्यवस्थापन प्रणाली मा २०८१ असारसम्म १७ हजार ६९६ सहकारी आवद्ध भएकोमा २०८१ फागुनसम्म १८ हजार ८९९ पुगेको आर्थिक सर्वेक्षणमा उल्लेख छ । 

Share News