आइतबारको संसद बैठक सहज रुपमा सञ्चालन हुने सभामुख घिमिरेको संकेत

काठमाडौं । सभामुख देवराज घिमिरेले आइतबारदेखि संसद सञ्चालनमा आउने संकेत गरेका छन् । सभामुख घिमिरेले आइतबारको संसद बैठक सहज रुपमा सञ्चालन हुने विश्वास व्यक्त गरेका हुन् । 

सत्तापक्ष र प्रतिपक्षबीच संवाद बढेसँगै संसद गतिशील बनाउने सहमति नजिक पुगेको सभामुखको भनाइ छ । उनले सत्तापक्ष र प्रतिपक्षी दलका शिर्ष नेताहरुबीचको छलफलपछि संसद अवरुद्ध अवस्थाको अन्त्य हुने बताए । प्रतिगामी शक्तिहरू सक्रिय हुन थालेको संकेत दिँदै यस्तो संवेदनशील अवस्थामा सत्ता र प्रतिपक्षले मिलेर अघि बढ्नुपर्ने आवश्यकता रहेको पनि बताए ।

व्यवस्थाकै विरुद्धमा जाने दलहरुले संसद गतिरोधका कारण खुच्चिङ भनिरहेको उल्लेख गर्दै उनले संसदीय दलभित्रका नेताहरुले यसबारे सोच्न जरुरी रहेको बताए । 

उनले भने, ‘संसद सञ्चालन गर्ने जिम्मेवारी सभामुखको जत्तिकै प्रतिपक्षी र सत्तापक्षको पनि हुन्छ । सत्तापक्ष र प्रतिपक्षबीच गम्भिरतापूर्वक बहस नहुनु चिन्ताको विषय हो । सत्तापक्ष र प्रतिपक्षी दलका नेताहरुबीचको छलफलले परिणाम दिन्छ । आजको संसदमा हामी अत्यन्त जरुरी सूचनाहरु सुनाउनुपर्ने देखि लिएर विभिन्न काम कारबाहीहरु गर्नुपर्ने थियो । तथापि हामी संसद सुचारु गर्नको लागि हामी निष्कर्षका पुग्दैछौँ । यस्ता कुरामा म उहाँहरुलाई अगाडि बढ्नको लागि शुभकामना पनि व्यक्त गर्न चाहन्छु । आईतवारदेखि संसद अगाडि बढ्ने सहमति बनोस् ।’

प्रतिनिधि सभामा देखिएको गतिरोध अन्त्य गर्न सत्तारुढ दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालबीच छलफल हुने बताइएको छ । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट भएको भिजिट भिसाको बद्मासीमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने र आवश्यक छानविन हुनुपर्ने मागबाट पछि हट्न नखोजेपछि शिर्ष तहमा छलफल हुन लागेको हो । 
 

Share News