काठमाडौं । नेपाली कांग्रेसले आफ्नो केन्द्रीय कार्यालय परिसर विस्तार गर्ने भएको छ । पार्टीले ललितपुर सानेपास्थित केन्द्रीय कार्यालय अगाडिपट्टि रहेको १९ आना जग्गा र सोही जग्गामा रहेको तीनतले घर खरिद गर्न लागेको हो ।
उक्त जग्गा ललितपुर निवासी अमिरमान अमात्यको हो । पार्टीले उक्त सम्पत्ति खरिद गरी कार्यालय क्षेत्रलाई अझ व्यवस्थित र फराकिलो बनाउन लागेको हो।
बुधबार केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा कांग्रेस महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा र कोषाध्यक्ष उमेश श्रेष्ठको उपस्थितिमा ५० लाख रुपैयाँ बैना दिई एक वर्षभित्र पास गर्ने सर्तसहित सम्झौता गरिएको हो ।
पार्टीले कुल १३ करोड रुपैयाँको लागतमा सम्पत्ति खरिद गर्न लागिरहेको छ । यो रकम पार्टीका विभिन्न तहमा उठाइने लेबी र शुभेच्छुकहरूको आर्थिक सहयोगमार्फत संकलन गरिने बताइएको छ ।