उच्चस्तरीय छानविन आयोग नबनेसम्म संसदमा आन्दोलन जारी रहन्छ : रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उच्चस्तरीय छानबिन आयोग गठन नगरेसम्म संसद अवरोध जारी राख्ने जनाएको छ । शनिबार संसद भवन नयाँ बानेश्वरमा बसेको रास्वपाको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै रास्वपाका सांसद हरिप्रसाद ढकालले सरकारले बनाएको छानबिन समिति मात्र झारो टार्ने र मुद्दा ओझेल पार्ने उद्देश्यका साथ बनेको आरोप लगाए । उनले भने, 'यो समितिलाई हामीले मानेका छैनौँ । हाम्रो माग उच्चस्तरीय छानबिन समिति हो। त्यो गठन नभएसम्म आन्दोलन जारी रहन्छ ।'

सांसद ढकालले रास्वपाले उठाउँदै आएको ‘भिजिट भिसा मार्फत मानव तस्करी’ प्रकरणको गम्भीर अनुसन्धान हुनुपर्ने माग गर्दै सरकार प्रमुखले यसप्रति बेवास्ता गरेको टिप्पणी गरे । '३४ दिनसम्म चौथो ठूलो दलले नागरिकको आवाज उठाउँदा समेत प्रधानमन्त्रीले चासो नदिएको' भन्दै ढकालले आक्रोश पोखे ।

उनले समस्या समाधान गर्ने गरी प्रभावकारी आयोग गठन नगरेसम्म संसद अवरुद्ध राख्ने र आन्दोलन निरन्तर चलाइने स्पष्ट पारे । 'प्रधानमन्त्री बोल्नुहुन्छ, हाम्रो आन्दोलन पनि सँगै जारी रहनेछ,' ढकालले भने ।

Share News