काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले आगामी वर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ६५ देखि ७० प्रतिशतसम्म विद्यार्थी उत्तीर्ण हुने गरी योजना अघि बढाउने बताएका छन् । शनिबार प्रतिनिधि सभामा बोल्दै उनले यस्तो जानकारी दिएका हुन् ।
प्रधानमन्त्री ओलीले हालै सार्वजनिक एसईईको नतिजालाई लिएर केही व्यक्तिले विद्यार्थीको मेहनत र क्षमतालाई अपमान गर्ने किसिमले टिप्पणी गरेकोप्रति आपत्ति जनाए । 'विद्यार्थीको मेहनतको अपमान गर्ने कुरा दुःखद छ,' उनले भने ।
यस वर्ष एसईईको नतिजा गत वर्षको भन्दा १४ प्रतिशतले वृद्धि भएर ६१.८१ प्रतिशत पुगेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यसलाई सुखद उपलब्धि भनेका छन् । '४८ प्रतिशतभन्दा कम नतिजाबाट ६१.८१ प्रतिशत पुर्याउन मेहनत गर्ने विद्यार्थी, शिक्षक र अभिभावकलाई धन्यवाद दिन चाहन्छु,' उनले भने ।
प्रधानमन्त्रीले आगामी शैक्षिक सत्रदेखि विद्यार्थीहरू फेल नहुने जस्तो शैक्षिक वातावरण बनाउनेतर्फ सरकारले ध्यान दिने स्पष्ट पारे । 'विद्यार्थीले मेहनत गरेर आफ्नो भविष्य बनाउने क्षमता राख्छन्, सरकारले त्यस्तो वातावरण बनाउँछ,' उनले भने ।