काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रविधि खरिदमा भ्रष्टाचार मुद्दा लागेका पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री मोहनबहादुर बस्नेत आइतबार विशेष अदालतमा उपस्थित भएका छन् ।
बस्नेतले विशेष अदालतमा उपस्थित भई बयान दिन पाउने गरी निवेदन दिएका थिए । विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा बस्नेतको बयान लिने प्रक्रिया अघि बढाइएको छ । बयानपछि आजै थुनछेक बहस हुने तयारी छ ।
बस्नेत मन्त्री भएका बेला नेपाल दूरसञ्चार प्राधिकरणको वार्षिक बजेट र कार्यक्रममा टेरामक्स प्रविधि खरिदको निर्णय पारित गरिएको थियो । मुद्दा दायर भएपछि उनी सांसद पदबाट निलम्बित भएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयान दिने क्रममा बस्नेतले उक्त प्रविधि कल डिटेल हेर्ने वा कसैको गोपनीयता भंग गर्ने उद्देश्यका लागि नभई, भीओआईपी (कल बाइपास) नियन्त्रणका लागि मात्रै स्वीकृत गरिएको जिकिर गरेका थिए ।