नेपाल प्रहरी सम्बन्धी कानून यसै अधिवेशनमा प्रस्तुत गर्नुपर्छ : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीसम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक छिटो निष्कर्षमा पुर्याउन राज्य व्यवस्था तथा सुशासन समितिलाई आग्रह गरेका छन् ।

आइतबार बसेको समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले यो विधेयक मुलुकको सबैभन्दा पुराना कानूनहरूमध्ये एक भएको उल्लेख गर्दै यसलाई यथाशीघ्र अद्यावधिक गर्न आवश्यक रहेको बताए । उनले भने, ‘यो देशको सबैभन्दा पुरानो मध्येको कानून हो, समय सापेक्ष परिमार्जन र संशोधन आवश्यक छ । यसै अधिवेशनमै प्रस्तुत गर्नेगरी अघि बढाउन अनुरोध गर्दछु ।’

गृहमन्त्री लेखकले नागरिकता विधेयकलाई जस्तै प्राथमिकता दिएर नेपाल प्रहरीसम्बन्धी विधेयकलाई पनि समितिबाट पारित हुने गरी अघि बढाउन आग्रह गरे ।

उनले विधेयकमा प्रहरीका जवानहरूलाई ‘तल्लो स्तरका’ नभई ‘आधारभूत तहका’ भनेर सम्बोधन गर्ने प्रस्तावसमेत समावेश गरिएको जानकारी दिए । साथै, सरकारले कानूनलाई सुधारेर छिटो निष्कर्षमा पुर्याउने प्रतिबद्धता जनाएको पनि बताए ।

Share News