हुम्ला । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रूपमा विकास गरिने घोषणा गरेका छन् । खार्पुनाथ गाउँपालिका-५ स्थित चुवाखोलामा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले कर्णाली करिडोर केवल कर्णाली र हुम्लावासीका लागि मात्र नभई, नेपाल, चीन र भारतबीचको व्यापार विस्तार गर्ने महत्वपूर्ण मार्ग भएको बताए ।
प्रधानमन्त्री ओलीले चुवाखोलामा हालै निर्माण सम्पन्न भएको बेलिब्रिजको उद्घाटन गर्दै कर्णाली करिडोर अन्तर्गत सो स्थानमा चाँडै पक्की पुल निर्माण गरिने जानकारी दिए। साथै, करिडोरलाई तत्काल दुई लेनको बनाउने र कालोपत्रे गरी स्तरोन्नति गरिने प्रतिबद्धता व्यक्त गरे ।
उनले हुम्ला सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालमा औपचारिक रूपमा जोडिएकोमा प्रसन्नता व्यक्त गर्दै यस उपलब्धिले समग्र देशको समृद्धितर्फ डो¥याउने विश्वास व्यक्त गरे । “अप्ठ्यारो ठाउँमा ढलान गरेर भए पनि सडक स्तरोन्नति गरेर अघि बढिन्छ,” उनले भने ।
प्रधानमन्त्री ओलीले चीनसँग जोडिएको हिल्सा नाकामा क्वारेन्टाइन निर्माण गरिने प्रतिबद्धता पनि व्यक्त गरे। उनले हिल्सा नाका व्यापारिक सम्भावनाले भरिएको क्षेत्र भएकोले त्यसको उपयोग गर्न तत्काल क्वारेन्टाइन स्थापना गर्न आवश्यक रहेको धारणा राखे ।
नेपाली सेनाले गत वर्ष चैत १० गतेदेखि चुवाखोलामा बेलिब्रिज जडान कार्य सुरु गरेको थियो, जुन असार १० गते सम्पन्न भएको हो । यही पुलको उद्घाटनका लागि प्रधानमन्त्री ओली नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौंबाट सुर्खेत हुँदै खार्पुनाथ आएका हुन् । उनको स्वागत स्थानीयवासीहरूले बाजागाजासहित गरेका थिए।
प्रधानमन्त्री ओलीसँगै रक्षामन्त्री मानवीर राई, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवाली, कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशी, मुख्यमन्त्री यामलाल कँडेल, नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल, पूर्वाधार मन्त्रालयका सचिव केशवकुमार शर्मा लगायतको टोली हुम्ला पुगेको थियो ।
सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि सारेको कर्णाली करिडोर निर्माण सुरु भएको २६ वर्षपछि सिमकोट पहिलोपटक औपचारिक रूपमा राष्ट्रिय सडक सञ्जालसँग जोडिएको हो। यस करिडोरले कर्णालीलाई उत्तर र दक्षिण अन्तरदेशीय सडक सञ्जालसँग जोड्ने अपेक्षा गरिएको छ।