चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनी कालोसूचीमा

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले सम्झौताअनुसार काम नगर्ने चारवटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनीलाई कालोसूचीमा राखेको छ । 

कार्यालयले आज एक सूचना प्रकाशित गरी विभिन्न सार्वजनिक निकायको सिफारिसमा ती कम्पनीहरूलाई एक वर्षका लागि कालोसूचीमा राखिएको जनाएको हो ।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम गरिएको यो कारबाहीपछि कालोसूचीमा परेका कम्पनीहरूले उक्त अवधिभर कुनै पनि सार्वजनिक निकायको खरिद प्रक्रियामा भाग लिन पाउने छैनन् । 

कार्यालयको मिति २०८२/०३/२२ को निर्णयअनुसार आज (असार २३ गते) देखि यो निर्णय लागू भएको छ ।

कालोसूचीमा पर्ने कम्पनीहरूमा श्री ग्रीन लिफ प्रा. लि., काठमाडौंः वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको सिफारिसमा यस कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ । कम्पनीका मुख्य व्यक्ति लुना खरेल रहेका छन् ।

यस्तै, श्री शिवम कन्स्ट्रक्सन, जनकपुरः गौशाला नगरपालिका, महोत्तरीको सिफारिसमा यो कन्स्ट्रक्सन एक वर्षका लागि कालोसूचीमा परेको हो । यसका मुख्य व्यक्ति राधेश्याम झा हुन् । श्री डि.जी. इगल कन्स्ट्रक्सन एण्ड बिल्डर्स प्रा.लि., काठमाडौंः सडक डिभिजन चन्द्रनिगाहापुर, रौतहटको सिफारिसमा यस कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ । यसका मुख्य व्यक्ति रघुनाथ कुमार ठाकुर रहेका छन् ।

यसैगरी श्री थोमस कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि., सुनसरीः शहरी विकास तथा भवन कार्यालय, विराटनगर, मोरङको सिफारिसमा यस कम्पनीलाई एक वर्षको लागि कालोसूचीमा राखिएको हो । यसका मुख्य व्यक्ति मुन्नी कुमारी मेहता हुन् ।

सरकारी तथा सार्वजनिक निकायका ठेक्का सम्झौताहरू समयमै र गुणस्तरीय रूपमा सम्पन्न नगर्ने निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई सम्बन्धित निकायको सिफारिसमा खरिद अनुगमन कार्यालयले कालोसूचीमा राख्दै आएको छ ।

null

Share News