काठमाडौं । प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाही र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई यस वर्षको ‘ग्लोबल हिरो अवार्ड’ प्रदान गरिने भएको छ ।
संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा क्रियाशील संस्था ‘ग्लोबल नेपाली’ले राष्ट्र निर्माण र जनसेवामा पु¥याएको अतुलनीय योगदानको कदर गर्दै उनीहरूलाई यो सम्मान प्रदान गर्न लागेको हो ।
आयोजकका अनुसार, आगामी जुलाई २७ मा न्युयोर्कमा आयोजना हुने एक विशेष समारोहबीच अवार्ड हस्तान्तरण गरिनेछ । ग्लोबल नेपालीले हरेक वर्ष आ-आफ्नो क्षेत्रबाट नेपालमा उत्कृष्ट योगदान पु¥याउने व्यक्तित्वहरूलाई सम्मान गर्दै आएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद शाही भ्रष्टाचारविरुद्धको अभियान, सुशासनको वकालत र जनजीविकाका सवालहरूमा निरन्तर सक्रियताका लागि चिनिन्छन् ।
यस्तै, प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई नेपालबाट लोडसेडिङ अन्त्य गरी ऊर्जा क्षेत्रमा रूपान्तरणकारी भूमिका खेलेकोमा उच्च प्रशंसा गरिन्छ ।