काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीचको मित्रता पुस्तौँपुस्ता विस्तार गर्दै लैजानुपर्ने बताएका छन् । नेपाल-चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठको अवसरमा ‘फिनिक्स इन्स्पिरेसन’ द्वारा आयोजित नेपाल-चीन सांस्कृतिक शिखर सम्मेलन २०२५ लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई अझ गहिरो र बहुआयामिक बनाउन सरकार प्रतिबद्ध रहेको बताए ।
‘सम्बन्धहरू केवल लेनदेनका लागि मात्र हुँदैनन्, ती पारस्परिक भावना र सांस्कृतिक विविधतामा आधारित हुन्छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘नेपाल सरकारका तर्फबाट यो सम्बन्ध अझ प्रगाढ बनाउन कुनै कसर बाँकी राखिने छैन ।’
उनले नेपाल-चीन सम्बन्धलाई ‘पुस्तौँसम्म फैलिने मैत्री’ का रूपमा हेर्नुपर्ने बताए । कार्यक्रममा प्रधानमन्त्री ओलीले विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई सम्मानसमेत गरेका थिए ।
युवा सशक्तिकरण पुरस्कार काठमाडौं उपमेयर सुनिता डङ्गोल, व्यवसाय नेतृत्व पुरस्कार राजेशकाजी श्रेष्ठ र वीरेन्द्रराज पाण्डेलाई, शिक्षा उत्कृष्टता पुरस्कार अनुराधा शर्मालाई प्रदान गरिएको थियो।