काठमाडौं । प्रभु हेलिकप्टरले आफ्नो उडान सेवालाई थप गुणस्तरीय र प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ । आफ्नो स्थापनाको १०औँ वर्षमा प्रवेश गरेको अवसरमा कम्पनीले सुरक्षित र यात्रुमैत्री सेवा प्रवाहलाई बलियो बनाउने जनाएको छ ।
वार्षिकोत्सवको अवसरमा प्रभु हेलि लिमिटेडका अध्यक्ष सुभाष अमात्यले पछिल्लो एक दशकमा प्राप्त साथ र सहयोगप्रति सम्पूर्णमा आभार व्यक्त गर्दै आगामी दिनमा थप गुणस्तरीय सेवा दिने प्रतिबद्धता व्यक्त गरे।
एक दशकअघि तत्कालीन मुक्तिनाथ हेलिकप्टरका नामबाट सञ्चालित कम्पनीलाई प्रभु ग्रुपले २०७२ सालमा सम्पूर्ण शेयर खरिद गरी प्रभु हेलिकप्टरका नामबाट सञ्चालनमा ल्याएको हो ।
‘नेपालको विविध र चुनौतीपूर्ण भौगोलिक अवस्थामा सुरक्षित, भरपर्दो र प्रभावकारी हवाई यातायात सेवामा प्रतिबद्ध भई निरन्तर लागेका छौँ, आगामी दिनमा पनि यात्रु तथा सेवाग्राहीबाट यही किसिमको माया र विश्वास पाउने अपेक्षा गर्दछौँ’, कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रभु हेलिकप्टरले विशेष गरी मुलुकको पर्यटन क्षेत्रका साथै आकस्मिक उद्धार, सामग्री ढुवानीलगायतका क्षेत्रमा काम गरिरहेको छ । सुरुवाती चरणमा एउटा रोबिन्सन हेलिकप्टरबाट व्यावसायिक यात्रा सुरु गरेको प्रभुले हाल दुई एयरबस एच १२५ मार्फत उडान सेवा प्रवाह गरिरहेको छ ।
कम्पनीले हाल पोखरा, काठमाडौं र लाङटाङमा हेलिकप्टर टुर तथा साइटसिङ सेवा उपलब्ध गराइरहेको छ भने मुक्तिनाथ, गोसाइकुण्ड, कालीञ्चोक भगवती र लुम्बिनीमा पनि हेलिकप्टर टुर उपलब्ध गराउँदै आएको छ । साथै सगरमाथा, अन्नपूर्ण र माछापुच्छ्रे हिमालको आधार शिविरमा पनि हवाई उडान गर्नुका साथै उद्धारलगायतका सेवा उपलब्ध गराउँदै आएको छ ।
सुरुमा कम्पनी ऐन, २०६३ अन्तर्गत एक निजी लिमिटेड कम्पनीको रूपमा समावेश गरिएको प्रभु हेलिकोप्टर प्रालि २०७९ असार ३० गतेदेखि पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भएको हो । कम्पनीसँग पोखरामा आफ्नै ह्याङर सुविधा उपलब्ध छ ।
आईपीओ जारी गर्दै
प्रभु हेलिकप्टर लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासनको तयारी गरेको छ । कम्पनीका अनुसार आईपीओ जारी गर्नका लागि आइपिओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरिसकेको छ ।