गायिका चन्द्रकला शाह र संगीतकार शीला बहादुर मोक्तान सम्मानित

काठमाडौं । सिटी एक्सप्रेस मनि ट्रान्सफर र भक्तराज आचार्य संगीत प्रतिष्ठानको संयुक्त सहकार्यमा आयोजित 'भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८१' यही २०८२ साउन ३ गते कुपण्डोलस्थित होटल हिमालयमा सम्पन्न भएको छ ।

सो कार्यक्रममा गायनतर्फ वरिष्ठ गायिका चन्द्रकला शाह र संगीततर्फ वरिष्ठ संगीतकार शीला बहादुर मोक्तानलाई जनही नगद १० हजार रुपैयाँ सहित सम्मानित गरिएको हो ।

त्यसैगरी, ‘सुशिला आचार्य सु–स्वास्थ्य कामना सम्मान’ दिवंगत कलाकार घनश्याम गौतमलाई मरणोपरान्त प्रदान गरिएको छ। उक्त सम्मान उनकी धर्मपत्नी यूगज्योति क्रियाशिलले ग्रहण गरिन् । २५ हजार रुपैयाँ राशिको यो सम्मान संगीत क्षेत्रमा क्रियाशील कलाकारहरूको स्वास्थ्योपचारमा सहयोग पुर्याउँदै आएको छ ।

सम्मान हस्तान्तरण कार्यक्रम भक्तराज आचार्य संगीत प्रतिष्ठानकी अध्यक्ष सुशिला आचार्य र सिटी एक्सप्रेस मनि ट्रान्सफरका संस्थापक चन्द्र टण्डनले संयुक्त रूपमा सम्पन्न गरेका थिए ।

भक्तराज आचार्य संगीत प्रतिष्ठानले नेपाली संगीत तथा कला क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आएको छ भने सिटी एक्सप्रेस मनि ट्रान्सफरले सामाजिक उत्तरदायित्वअन्तर्गत प्रतिष्ठानसँग सहकार्य गर्दै आएको छ ।

सिटी एक्सप्रेस मनि ट्रान्सफरले विगत १८ वर्षदेखि विश्वभरबाट विप्रेषण सेवा प्रदान गर्दै आएको छ । हालै कम्पनीले डिजिटल कारोबार सशक्त बनाउन सिटी पे वालेटमार्फत अनलाइन भुक्तानी सेवा सुरु गरेको छ । यस सेवाबाट सिधै रेमिट्यान्स भुक्तानीसमेत गर्न सकिने सुविधा उपलब्ध गराइएको छ ।

Share News