वीपी कोइरालाको ४३औँ स्मृति दिवसमा विविध कार्यक्रमसहित मनाइँदै

काठमाडौं । वीपी कोइरालाको ४३ औँ स्मृति दिवसको अवसरमा भोलि बिहान ८ बजे वीपी स्मृति अस्पताल, वसुन्धरामा विभिन्न कार्यक्रमहरू आयोजना गरिने भएका छन् । 

नेपाली कांग्रेसका शीर्ष नेताहरूको विशेष सहभागितामा हुने कार्यक्रमहरूको मूल उद्देश्य वीपी कोइरालाको विचार र योगदानको स्मरण गर्नु रहेको वीपी स्मृति अस्पतालका अध्यक्ष उमेश जंग रायमाझीले जानकारी दिए ।

दिवसको मुख्य आकर्षणस्वरूप 'देश विकास र देशवासीको उन्नतिको आधार विपी विचार' विषयक विचार गोष्ठी आयोजना गरिने छ । उक्त गोष्ठीमा प्रमुख अतिथिका रूपमा नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सहभागिता रहने अध्यक्ष रायमाझीले जानकारी दिए ।

यसै अवसरमा, पूर्वअध्यक्ष डा. शेखर कोइरालाले वीपी स्मृति अस्पतालमा फलफूल वितरण कार्यक्रमको उद्घाटन गर्नेछन् । अस्पतालकै आयोजनामा रक्तदान कार्यक्रम पनि तय गरिएको छ, जसको शुभारम्भ महामन्त्री विश्वप्रकाश शर्माले स्वयं रक्तदान गरेर गर्नेछन् । इच्छुक रक्तदाताहरूलाई सम्पर्क गर्न आयोजकले आग्रह गरेको छ ।

स्वास्थ्य सेवामा पहुँच पुर्याउने उद्देश्यले मन्त्री प्रदीप पौडेलको प्रमुख आतिथ्यमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रमको समेत आयोजना गरिएको छ । साथै, पूर्वमन्त्री शशांक कोइरालाको उपस्थितिमा वृक्षारोपण कार्यक्रम सञ्चालन गरिनेछ ।

वीपी कोइरालाको स्मृतिमा विशेष सांस्कृतिक कार्यक्रम अन्तर्गत ऐतिहासिक चलचित्र नालापानीको विशेष प्रदर्शनसमेत गरिनेछ ।

वीपी स्मृति अस्पताल २०६४ साल असोज १३ गते स्थापना भएको हो । स्वास्थ्य सेवा र जनशक्ति उत्पादनमा केन्द्रित यस संस्थाले सातै प्रदेशका जनतालाई लक्षित गरी सेवा दिँदै आएको छ । 

हाल अस्पतालबाट विशेषज्ञहरूमार्फत विभिन्न रोगको उपचार तथा शल्यक्रियासमेत उपलब्ध गराइँदै आएको छ । स्टाफ नर्स र हेल्थ असिस्टेन्ट तहमा नियमित पढाइ सन्चालनमा रहेको संस्थाले २०६९ सालदेखि वार्षिक ४० जना स्वास्थ्यकर्मी उत्पादन गर्दै आएको छ ।

अस्पतालले लोपोन्मुख जातजाति, अति गरिब र दुर्गम क्षेत्रका नागरिकलाई निःशुल्क सेवा प्रदान गर्दै आएको छ भने अन्य सेवामा पनि १०–२५ प्रतिशतसम्म छुट प्रदान गर्दै आएको छ । हालै मातातीर्थमा स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो । आगामी दिनमा देशका सबै प्रदेशमा सेवा विस्तार गर्ने लक्ष्यसहित वीरगञ्जमा सेवा सुरु गर्ने तयारी गरिएको छ ।
 

Share News