काठमाडौं । पशु कल्याणका क्षेत्रमा विगत एक दशक देखि विभिन्न कार्यहरू गर्दै आइरहेको स्नेहाज केयरले ‘काठमाडौं भेज फेस्ट’ को आयोजना गर्ने भएको छ । स्नेहाज केयरले यही आउँदो साउन १० गते शनिबार सो फेस्टको आयोजना गर्न लागेको संस्थाका अध्यक्ष स्नेहा श्रेष्ठले बताइन् ।
स्नेहाज केयरले हरेक वर्षझैँ यस वर्ष पनि ५ औँ भेज फेस्टको रुपमा मनाउन लागेको हो । अध्यक्ष श्रेष्ठका अनुसार कार्यक्रम काठमाडौं बौद्धस्थित उत्पला क्याफेकाे प्रांगनमा आयोजना हुँदैछ । यो कार्यक्रम गर्नुको उद्देश्य वनस्पतिमा आधारित परिकारहरूको प्रचार-प्रसार गर्नुका साथसाथै वनस्पतिमा आधारित खाना र जीवनशैलीलाई प्रवर्द्धन गर्नु रहेको श्रेष्ठले बताइन् । महोत्सवमा वनस्पतिमा आधारित खानाको परिकार, दिगो विकास र वातावरणमैत्री सामग्रीको प्रदर्शनका साथै विक्री वितरण हुने छ । साथै उक्त कार्यक्रमलाई सफल बनाउनका भिगन रेस्टुरेन्ट, भिगन सामग्रीहरूको बिक्रेताहरुले पनि स्टल राख्दैछन् ।
आयोजकका अनुसार महोत्सवमा विभिन्न १३ भन्दा बढी भिगन रेस्टुरेन्ट, भिगान परिकार उत्पादकहरु, विभिन्न आकर्षक गरगहनाहरू, अर्गानिक कृषि उपजहरु तथा ह्यान्डिक्राफ्ट, पशु कल्याण संस्थाहरू, योग तथा दर्शन लगायतका सामग्रीहरू तथा जानकारीमूलक गरि ९० भन्दा धेरै स्टलहरू रहनेछन् । उक्त महोत्सवमा लबिङ हर्ट, सो भेगन, भेगन हाउस, हाम्रो भेगन, सारा बेक्स भेगन, अलोइज ह्याप्पी, भेगन फुड एण्ड वेवरेजलगायत रेष्टुरेन्टहरुले स्टल राख्दैछन् ।
संस्थाका अध्यक्ष श्रेष्ठले भनिन्, ‘महोत्सव निकै नै रमाइलो हुनुका साथै विभिन्न स्टलहरूमा विभिन्न किसिमका स्वस्थकर र स्वादिष्ठ भिगान परिकारहरूको स्वाद लिन पाउनुहुनेछ ।’ त्यस्तै महोत्सवमा भिगन जीवनशैलीसँग सम्बन्धित जानकारीहरू प्राप्त गर्नुका महोत्सवलाई भव्य र मनोरञ्जनात्मक बनाउनका लागि लाइभ म्युजिक, नृत्य प्रस्तुति, बालबालिकाहरूका निम्ति विभिन्न विधामा गरिएको प्रतिस्पर्धाको पुरस्कार वितरण लगायतका कार्यक्रमहरू समेत राखिएको आयोजकले जनाएको छ ।
पशु कल्याण अभियानको महत्वपूर्ण कार्यक्रमको रुपमा संस्थाले सन् २०१७ देखि विरुवामा आधारित आहारको उपभोगलाई बढावा दिने कार्यक्रमहरू समेत सञ्चालन गर्दै आइरहेको छ । क्रुरता मुक्त बिरुवामा आधारित स्वस्थकर खानपान र व्यवहार व्यक्तिको स्वास्थ्यका साथै पर्यावरणका लागि पनि फाइदाजनक र पशु कल्याणमा पनि टेवा पुग्ने हुँदा, संस्थाले यस सम्बन्धी विभिन्न जनचेतना मूलक कार्यक्रमहरू संचालन गर्दै आइरहेको अध्यक्ष श्रेष्ठले बताइन् ।
यस कार्यक्रम अन्तर्गत विद्यालयहरूमा विरुवामा आधारित आहार र पशु कल्याण तथा मानवता सम्बन्धी कक्षा संचालन गर्ने, विद्यालयका क्यान्टिनका कुकहरूलाई भिगन परिकार सम्बन्धी तालिम संचालन, समुदाय स्तरमा महिलाहरुलाई विरुवामा आधारित आहार सम्बन्धी गोष्ठी/तालिम संचालन गर्ने, स्थानीय रैथाने भेज खानाको परिकारका बारेमा फुड भ्लग्स र सामाजिक सञ्जालको माध्यमबाट प्रचार प्रसार गर्ने र वार्षिक भेज फेस्ट आयोजना गर्दै आएको छ ।
वि.सं २०७२ मा ललितपुर महानगरपालिका वडा नं २१ मा स्थापना भएको स्नेहाज केयरले विगत १० वर्षदेखि पशु कल्याणका क्षेत्रमा विभिन्न कार्यहरू गर्दै आइरहेको छ । यस संस्थाले पशुपंक्षीहरुको उपचार, उद्धार तथा पुनःस्थापनाका लागि विभिन्न गतिविधिहरू सञ्चालन गर्दै आएको छ ।
साथै सामुदायिक कुकुरहरूको जनसंख्या नियन्त्रणका लागि बन्ध्याकरण, रेविज रोग उन्मुलनका लागि बृहत रेबिजविरुद्धको खोप कार्यक्रम संचालन गदै आएको छ । यस्तै बेवारिसे गाई बाच्छाहरुको उद्वार, उपचार, तथा पूनस्र्थापना, लामो दुरीमा पशु ढुवानी गर्दा, अव्यवस्थित ढुवानीका कारण पशुप्रति भईरहेको क्रुरता कम गर्नको लागि विभिन्न कार्यक्रम गर्ने गरेको छ । साथै हिमाली क्षेत्रमा प्रयोग गरिने भारवाहक पशुको कल्याणका निम्ति पनि कार्यक्रमहरू गर्दै आएको छ ।