काठमाडौं महानगरमा ट्राफिक नियम उल्लंघन गरे ५० हजारसम्म जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र सवारी नियम उल्लंघन गर्नेलाई ५० हजार रुपैयाँसम्म जरिवाना लाग्ने भएको छ । महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट कार्यान्वयनका लागि ल्याएको आर्थिक ऐनमा यस्तो व्यवस्था गरेको हो ।

ऐनमा सवारी साधनसँग सम्बन्धित ५ वटा शीर्षकमा नयाँ जरिवाना तोकिएको छ । महानगरले यी जरिवानाहरू यातायात व्यवस्था ऐनमा भएको व्यवस्थाभन्दा बाहेक थप गरेको हो । यसको अर्थ, संघीय कानुनले तोकेको जरिवानाका अतिरिक्त महानगरले आफ्नै नियमअनुसार पनि कारबाही गर्न सक्नेछ ।

महानगरले तोकेका जरिवानाहरुमा तोकिएको स्थानबाहेक अन्यत्र पार्किङ गरेमा सवारीको प्रकृतिअनुसार ५ हजार रुपैयाँसम्म जरिवाना लाग्नेछ ।

मोटरसाइकल र स्टकुरको १ हजार जरिवाना लाग्नेछ भने कार/जीप/भ्यान साना अन्य चारपाङ्ग्रेको लागि २ हजार ५ सय, मिनीबस/मिनीट्रक अर्थात् मझौला सवारीको ३ हजार ५ सय बस/ट्रक (ठूला सवारी) को ५ हजार रुपैयाँ जरिवाना तोकिएको छ ।

यस्तै सार्वजनिक सवारीले बस बिसौनी वा तोकिएको ठाउँबाहेक अन्यत्रबाट यात्रु चढाए वा ओरालेमा  ५ हजार रुपैयाँ जरिवाना लाग्नेछ । सवारीसाधनले अनावश्यक हर्न बजाएर वा अन्य तरिकाले ध्वनि प्रदूषण गरेमा १ हजार रुपैयाँ जरिवाना हुनेछ ।

सवारीसाधनले मापदण्डभन्दा बढी धुँवा फालेर वायु प्रदूषण गराएमा १ हजार जरिवाना गरिनेछ । यसैगरी कुनै सवारी साधन वा व्यक्तिले बाटोमा माटो, बालुवा, हिलो वा अन्य निर्माण सामग्री खसालेर फोहोर गरेमा कसुरको प्रकृति हेरी ५० हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।

Share News