सुनको सिक्री लुटपाट गर्ने गिरोह माछापोखरीबाट पक्राउ

काठमाडौं । गलामा लगाएको सुनको सिक्री लुट्ने गिरोहका दुई सदस्यलाई प्रहरीले माछापोखरीबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका–८ जरङ्खु बस्ने २१ वर्षीय कौशल बस्नेत र २६ वर्षीय मिलन तामाङ रहेका छन् । उनीहरूले माछापोखरी क्षेत्रमा एक महिलाको गलाको सिक्री लुटेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी तथा प्रवक्ता अपीलराज बोहराले जानकारी दिए ।

प्रहरीका अनुसार शनिबार साँझ साढे ५ बजे ती महिलाको २ तोला २५ लामा सुनको सिक्री लुटिएको थियो । उक्त सिक्रीको मूल्य हालको बजार अनुसार झन्डै ४ लाख ३८ हजार रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ।

घटनापछि खोजीमा खटिएको प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले राति साढे १२ बजे नै माछापोखरीबाटै दुवै जनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरूको साथबाट एक थान सिक्री र दुई थान मोबाइल फोन समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

Share News