सुख्खाग्रस्त मधेसको सरकारी अध्ययन टोली भन्छ : ३ सय डिप बोरिङ खनियो, प्रभावकारी भएन

काठमाडौं । विपद् संकटग्रस्त क्षेत्र मधेस प्रदेशका विभिन्न जिल्लामा चैत्र यता सिंचाईका लागि ३ सय वटा डिप बोरिङ खनिएको भएपनि प्रभावकारी रुपमा सञ्चालन हुन नसकेको देखिएको छ । विशेष गरेर सामुदायिक उपभोक्ता समितिमार्फत गरिएका काममा प्रभावकारिता र स्थायीत्वको समस्या देखिएको हो । 

मधेस प्रदेशको स्थलगत अध्ययनमा रहेको अन्तरमन्त्रालय स्तरको अध्ययन कार्यदलले मुख्य सचिव एकनारायण अर्याललाई आज प्रारम्भीक जानकारी गराउने क्रममा यस्तो बताएको हो । त्यसैगरी विभिन्न स्थानमा सिंचाई प्रयोजनका बोरिङ सञ्चालनमा प्रयोग भएका ५० वटा ट्रान्सफर्मर चोरी भएको पनि प्रारम्भिक अध्ययनमा देखिएको छ ।

केही स्थानमा भोल्टेजको स्थायित्व नभएका कारण प्रयोग हुन नसकेर सिंचाई हुन नसकेको पनि टोलीले निष्कर्ष निकालेको छ । मुख्यसचिव अर्यालले आज आफ्नै कार्यालयमा मधेस प्रदेशमा परिचालन भएको टोली सहित सबै मन्त्रालयका सचिवहरुसँग पछिल्लो अवस्था र अध्ययनको प्रारम्भीक जानकारीबारे छलफल गरेका छन् । छलफलपछि न्युज एजेन्सी नेपालसँग संक्षिप्त कुराकानी गर्दे उहाँले एकीकृत प्रतिवेदन प्राप्त भएपछि सरकार एक्शनमा जाने बताए । 

उनले भने ‘सम्माननीय प्रधानमन्त्रीज्युको निर्देशन बमोजिम हामीले मधेस प्रदेशमा खटाईएको टिमहरुको प्रारम्भीक प्रतिवेदन बुझ्ने काम भएको छ । चैत्र वैशाखदेखि ८ वटा जिल्लामा ३ सय वटा डिप बोरिङ खनिसकिएको भन्ने रिपोर्ट छ । छिटै जोड्ने काम हुन्छ । हामी सम्बन्धित मन्त्रालयका सचिवज्युहरुलाई राखेर छिटै नै काम अघि बढ्छ ।’

सरकारले मधेस प्रदेशमा खडेरीका कारण देखापरेको समस्याको स्थलगत अध्ययन मन्त्रालयस्तरको प्राविधि टोलि खटाएको थियो । खानेपानी, उर्जा जलस्रोत तथा सिंचाई र कृषि तथा पशुपंक्षी मन्त्रालका सहसचिव सम्मिलित टोलि समस्याग्रस्त प्रदेशमा गई अध्ययन गरेर फर्किएको छ ।

सो टोलीले आज मुख्य सचिवलाई स्थलगत अध्ययनको क्रममा देखिएका अवस्थाबारे मौखिक जानकारी गराएको छ । साथै मुख्यसचिवले सबै मन्त्रालयका सचिवहरुसंग पनि छलफल गरेका छन् । 
 

Share News