६ घण्टे लोडसेडिङको तालिका खारेज, विद्युत आपूर्ति सुचारु

काठमाडौं । चौतर्फी आलोचनापछि नेपाल विद्युत प्राधिकरणले ६ घण्टे लोडसेडिङको तालिका खारेज गरेको छ । मर्मतको लागि भन्दै सार्वजनिक गरेकाे लोडसेडिङ तालिका काम सम्पन्न पछि विद्युत आपूर्ति पूर्ण रूपमा सुचारु भएको प्राधिकरणले जनाएकाे छ । 

पछिल्लो समय विद्युत आपूर्तिको विषयलाई लिएर सर्वसाधारणमा फैलिएको अन्योललाई चिर्दै नेपाल विद्युत प्राधिकरणले आपूर्तिलाई नियमित बनाएको जनाएकाे छ । प्राधिकरणका अनुसार मर्मतको लागि सार्वजनिक गरिएको तालिकाअनुसार काम सकिएसँगै विद्युत आपूर्ति पूर्ण रूपमा सुचारु गरिएको प्राधिकरणका बिलिङ महाशाखाका प्रमुख रविन्द्र श्रेष्ठले बताए ।

उनका अनुसार यो लोडसेडिङ नभई प्रणाली मर्मतका लागि गरिएको ‘सटडाउन’ थियो । करिब १२/१३ घण्टा लगाएर गरिएको मर्मतको काम बेलुका ६ बजे नै सम्पन्न भएको उनकाे भनाइ छ ।

उनले प्राधिकरणका उप-कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठ आफैँ बिहान ६ बजेदेखि फिल्डमा खटिएर मर्मतको कामको अनुगमन गरेको बताए । 

के-के भयो मर्मत र सुधार ?

प्राधिकरणले नयाँ फिडर थपेर दुईतर्फी लाइनबाट विद्युत आपूर्ति सञ्चालनमा ल्याएको छ । जसले प्रणालीलाई थप भरपर्दो बनाएको छ । यसअघि लोड बढी हुँदा लाइन आफैँ काटिने (ट्रिप हुने) समस्यालाई पनि समाधान गरिएको जनाएको छ । 

यति मात्र नभई प्राधिकरणले प्रणालीलाई थप सुदृढ बनाउन भोलि अर्को ट्रान्सफर्मर थप्ने योजना बनाएको छ । साथै, हालको ११ हजार भोल्टको सब स्टेसनलाई स्तरोन्नति गरी ३३ हजार भोल्टको बनाउने काम पनि अघि बढाइएको छ, जसले भविष्यमा आउन सक्ने समस्यालाई न्यूनीकरण गर्ने श्रेष्ठले बताए । 

किन भयो ६ घण्टे तालिका ?

प्राधिकरणका अनुसार नियमित मर्मत-सम्भार (जस्तै: ट्रान्सफर्मर वा ब्रेकर फेर्ने) को लागि वेबसाइटमार्फत सूचना प्रकाशित गर्ने गरिन्छ । सोहीअनुसार प्रकाशित सूचनालाई सर्वसाधारणले लोडसेडिङको रूपमा बुझ्दा अन्योल सिर्जना भएको श्रेष्ठले बताए ।

उच्च भोल्टेजमा काम गर्दा सुरक्षाका लागि लाइन काट्नुपर्ने भएकाले केही समय आपूर्ति बन्द गरिए पनि त्यो लोडसेडिङ नभएको प्राधिकरणले स्पष्ट पारेको छ ।

अहिले मर्मतको काम सकिएर आपूर्ति पूर्ण रूपमा सुचारु भइसकेकाले अब घोषित वा अघोषित रूपमा लोडसेडिङ नहुनेमा प्राधिकरणले विश्वस्त पारेको छ ।

Share News