नेपालको विकासका लागि आर्टिफिसियल इन्टेलिजेन्स अपरिहार्य: कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले नेपालको विकासका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग अपरिहार्य रहेकोमा जोड दिएको छ । कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागले आयोजना गरेको एक विशेष कार्यक्रममा विज्ञहरूले एआई प्रविधिको सही सदुपयोगमार्फत देशले विकासमा फड्को मार्न सक्ने धारणा राखेका हुन् ।

पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाद्वारा उद्घाटन गरिएको ‘आर्टिफिसियल इन्टेलिजेन्स फर नेपाल’स डेभलपमेन्टः अ होलिस्टिक एप्रोच’ शीर्षकको उक्त कार्यक्रममा एआईका विभिन्न आयामबारे बृहत् छलफल भएको थियो ।

विभागकी प्रमुख सुशीला मिश्र भट्टका अनुसार अहिलेको युग ‘एज अफ एआई’ भएकाले नेपालले यसलाई बेवास्ता गर्न नसक्ने बताइन् । उनले भने, ‘अहिलेको युवा पुस्ता (जेनजी) एआई प्रविधिसँग अभ्यस्त भइसकेको छ । देशको समग्र विकासका लागि हामीले पनि यो प्रविधिलाई आत्मसात् गर्नैपर्छ ।’

कार्यक्रममा कांग्रेस नेता डा. मिनेन्द्र रिजालको अध्यक्षतामा विशेष प्यानल छलफल आयोजना गरिएको थियो ।  जसलाई उज्ज्वल कोइरालाले सहजीकरण गरेका थिए । प्यानलमा काठमाडौं विश्वविद्यालयका प्रोफेसर सुधान झा, प्रधानमन्त्री कार्यालयका डिजिटल मामिला विज्ञ दिपेश बिष्ट, सूचना तथा सञ्चार मन्त्रालयका सहसचिव आदेश खड्का र प्रविधि उद्यमी सजना महर्जनले एआईका विभिन्न पक्षमाथि प्रकाश पारेका थिए । 

किसानदेखि नीति निर्माणसम्म एआईको भूमिका

छलफलमा एआईलाई कृषि क्षेत्रमा कसरी प्रयोग गर्न सकिन्छ भन्नेबारे उदाहरणसहित प्रस्तुत गरिएको थियो । ‘अब एक किसानले आफ्नो मोबाइलबाटै माटोअनुसार कस्तो मल हाल्ने वा बालीमा लागेको रोग के हो भनेर पत्ता लगाउन सक्ने प्रविधि एआईले दिन्छ,’ विभाग प्रमुख भट्टले भनिन् ‘यस्ता अनेकौं अवसरहरूबाट हामीले फाइदा लिनुपर्छ ।’

कार्यक्रममा एआईका अवसरसँगै चुनौतीका विषयमा पनि छलफल भएको थियो । एआईको प्रयोगबाट फैलिन सक्ने फेक न्यूज (गलत सूचना), यसको नैतिक प्रयोग र आवश्यक नीतिको अभावजस्ता विषयमा विज्ञहरूले चिन्ता व्यक्त गरे । उनीहरूले एआईको प्रयोगमा इमान्दारिता र सही सदुपयोग आवश्यक रहेकोमा जोड दिए ।

कार्यक्रममा सहभागीहरूको उल्लेख्य र सक्रिय सहभागिता रहेको र उनीहरूले राखेका जिज्ञासामाथि पनि छलफल भएको भट्टले जानकारी दिइन् ।

Share News