दिसामा पाइने कीटाणु भेटिएपछि ५ पानी उद्योगमा तालाबन्दी

काठमाडौं । दिसामा हुने कीटाणु ‘कोलिफार्म’ भेटिएपछि भक्तपुरमा पानी उद्योगको अनुगमन तीव्र पारिएको छ । बिक्री वितरणमा प्रतिबन्ध लगाएको चाँगुनारायण नगरपालिका-३ झौखेलमा सञ्चालित ५ पानी उद्योगले अटेर गरी खानेपानी बिक्री गरेको पाइएपछि नगरपालिकाले ५ उद्योगमा तालाबन्दी गरेको छ ।

प्रतिबन्ध लगाएको कम्पनीले पानी बिक्री गरिरहेको गुनासो गरेपछि आइतबार नगरपालिकाका उपप्रमुख एवं अनुगमन समितिका संयोजक रमेश बुढाथोकीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, नगरपालिकाको टोली, उपभोक्ता मञ्च, उद्योग वाणिज्य सङ्घ लगायतका प्रतिनिधिको संयुक्त टोलीले अनुगमन गरी ती उद्योगमा तालाबन्दी गरेको हो ।

अनुगमन टोलीले अक्वा कर्णाली खानेपानी उद्योग, जय छुमा गणेश खानेपानी उद्योग, ओके मिनिरल वाटर प्रालि, झौखेल खानेपानी उच्च वेभरेज प्रालि, एसएन टप वेभरेज प्रालि, ओके मिनिरल वाटर खानेपानी उद्योग र झौखेल खानेपानी उद्योगमा अनुगमन टोलीले तालाबन्दी गरेको हो ।

पानी पिउन योग्य छ भनेर ल्याब परीक्षणको ‘रिपोर्ट’ नआएसम्म बिक्रीमा रोक लगाएको पानी कम्पनीले त्यसलाई अटेर गर्दै पानी बिक्री गरेको र अरू कम्पनीको ‘स्टिकर’ टाँसेर पानी बिक्री गर्दै आएको पाइएपछि तालाबन्दी गरिएको उपप्रमुख बुढाथोकीले बताए ।

अनुगमनमा भक्तपुर नेचुरल ड्रिङ्किङ वाटर प्रालि, इच्छा कामना वेभरेज प्रालि, हेरिटेज वेभरेज प्रालि लगायतको पनि अनुगमन गरी पानीको गुणस्तर जाँच गर्न पानीको नमूना सङ्कलन गर्नका साथै स्थानीय तहमा दर्ता तथा नवीकरण नगरेका पानी उद्योगलाई एक साताभित्र दर्ता एवं नवीकरण गर्न निर्देशन दिएको उपप्रमुख बुढाथोकीले बताए । चाँगुनारायण नगरपालिका-३ झौखेलमा सञ्चालनमा रहेका केही खानेपानी उद्योगले बिक्री-वितरण गर्दै आएको खानेपानीमा मानवीय स्वास्थ्यका लागि हानि कारक इकोली, कोलिफार्म, एमोनिया लगायत तत्व पाइएको थियो ।

नगरपालिकाको निर्देशनको अवज्ञा गर्ने उद्योगलाई नियमानुसार कानुनी कारबाही गरिने छ । झौखेलमा २२ पानी उद्योग मात्रै स्थानीय नगरपालिकामा दर्ता गरे पनि अन्य धेरैले दर्ता तथा नवीकरण नगराएको पाइएकाले एक साताभित्रै सबै उद्योगलाई दर्ता एवं नवीकरण गर्न निर्देशन दिइएको छ ।

उपप्रमुख बुढाथोकीले पानी बन्द गर्ने कुनै नियत नभएको तर भक्तपुरलगायत काठमाडौं उपत्यकामा उद्योगले शुद्ध पानी मात्रै बिक्री गरून् भनेर अनुगमन गरिएको बताए । उनले चाँगुनारायण नगरपालिकाको ल्याबमा पानी परीक्षण गरी बिहीबारसम्म आउने रिपोर्टमा पुनः कोलिफार्म भेटिए तालाबन्दी गर्ने र शुद्ध भेटिए बिक्री गर्न अनुमति दिने बताए ।

Share News