काठमाडौं । नेपाल कम्युनिष्ट (एमाले) का निलम्बित सचिव एवं प्रतिनिधिसभाका निलम्बित सांसद टोपबहादुर रायमाझीको मुद्दा छिटो टुङ्गोमा पुर्याउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अर्घाखाँची जिल्ला सभापति हरिप्रसाद भुसालले माग गरेका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई वर्षदेखि पुर्पक्षका लागि हाल भद्र जेलमा थुनामा रहेका नेता रायमाझीलाई भेटेर सभापति भुसालले सो जोड दिएका हुन् । लामो समय मुद्दा अदालतमा विचाराधीन हुँदा अर्घाखाँची प्रतिनिधि विहीन भएकाले दोषी वा निर्दोष जे भए पनि फैसला चाँडै आएमा जिल्लाको समग्र विकास निर्माणको काममा सहजता हुने उनको भनाइ छ ।
‘एउटा निर्वाचित जनप्रतिनिधिलाई पुर्पक्षमा यति लामो समय जेल हाल्दा अर्घाखाँचीलाई प्रत्यक्ष प्रभाव पर्यो । जिल्लावासीको नाताले म आग्रह गर्छु फैसला छिटो होस्,’ सभापति भुसालले भने ।
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ मा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्यमा रायमाझीका प्रतिस्पर्धी रहेका भुसालले तेस्रो स्थान हासिल गरेका थिए । केही दिनअघि नेकपा (माओवादी केन्द्र) नेता जनार्दन शर्माले रायमाझीलाई भद्र जेलमा भेटेर रायमाझीमाथि राजनीतिक पूर्वाग्रह भएकाले चाँडै फैसला भई रिहाइ हुने अपेक्षा व्यक्त गरे ।
जिल्ला अदालत, काठमाडौंमा विचाराधीन रायमाझीको सो मुद्दामा जाहेरी वाला र साक्षीको बकपत्र (बयान) सकिएको छ भने यही साउन १८ गतेका लागि पेसी तोकिएको छ । उक्त प्रकरणमा पूर्वमन्त्री रायमाझीलाई सहायक प्रतिवादी बनाइएपछि २०८० वैशाख २० गते जिल्ला प्रहरी कार्यालय, काठमाडौंले पक्राउ पुर्जी जारी गरी २०८० वैशाख ३१ गते पक्राउ गरेको थियो । जिल्ला अदालत, काठमाडौँको एकल इजलासले २०८० असार १ गतेको फैसलाबाट रायमाझीसहितलाई पुर्पक्षका लागि थुनामा राखिएको छ ।