दक्षिण एसियाली युवा नेताहरूले काठमाडौंमा जमघट गर्ने

रजनी थापा

काठमाडौं । नेपाल जेसीज (जेसीआई नेपाल) को आयोजनामा पहिलोपटक दक्षिण एसियाली युवा नेतृत्व विकास कार्यक्रम ‘दक्षिण एसियाली अन्तर्राष्ट्रिय नेतृत्व अकादमी (एसएएआईएल-नेपाल २०८२)’ काठमाडौंमा सुरु हुने भएको छ ।

साउन १५ देखि १८ गतेसम्म काठमाडौंको ठमेलस्थित अलफ्ट होटलमा  कार्यक्रम हुन लागेको हो । नेपाल, भारत, बंगलादेश र श्रीलंकालगायत दक्षिण एसियाका युवाहरूको नेतृत्व क्षमता अभिवृद्धि, क्षेत्रीय सहकार्य र अन्तरसंस्कृतिक समझदारी सुदृढ गर्नका लागि आयोजना गरिएको हो ।

कार्यक्रमको नेतृत्व जेसीआईका सन् २००१ का पूर्वराष्ट्रिय अध्यक्ष प्रज्ञा राज भण्डारीले गर्ने जनाइएकाे छ । कार्यक्रमको समग्र व्यवस्थापन हालकी वर्तमान राष्ट्रिय अध्यक्ष रजनी थापाको अध्यक्षतामा भइरहेको छ ।

अध्यक्ष थापाले भनिन्, 'एसएएआईएल–नेपाल २०८२ नेपाली युवा नेतृत्वलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गराउने दुर्लभ अवसर हो । यसले नेपाललाई अन्तर्राष्ट्रिय युवा नेतृत्वको केन्द्रको रूपमा चिनाउनेछ ।'

कार्यक्रमका मुख्य आकर्षणहरूमा नेतृत्व विकास सम्बन्धी सहकार्य र तालिम, उद्यमशीलता तथा परियोजना व्यवस्थापनसम्बन्धी कार्यशाला, अन्तरसंस्कृतिक आदानप्रदान, विविध सांस्कृतिक पहिचानको सम्मान, तथा विश्व सम्पदास्थलहरूको भ्रमण र पर्यटन प्रवर्द्धन रहेका छन् ।

यस अवसरमा ‘जेसीस इन बिजनेस’ भन्ने शीर्षकमा विशेष सत्रसमेत सञ्चालन गरिएको छ । कार्यक्रममा श्रीलंकास्थित नेपाली दूतावास तथा महामहिम नेपाली राजदूत पूर्णबहादुर राईको पनि आतिथ्य रहनेछ ।

साथै, सन् २०२५ मा मङ्गोलियामा आयोजना हुने जेसीआईको एसप्याक  सम्मेलनतर्फको तयारीका रूपमा समेत यो कार्यक्रमलाई महत्वपूर्ण मानिएको छ । आयोजकका अनुसार यो कार्यक्रमले दक्षिण एसियाली युवाबीच दीर्घकालीन सहकार्य र सञ्जाल विस्तारको नयाँ मार्ग खोल्ने विश्वास गरिएको छ ।

Share News