ठूलो घोटालामा मुछिँदा निलम्बनमा सांसद, आफ्ना प्रतिनिधि खोज्दै जनता

काठमाडौं । पछिल्लो प्रतिनिधिसभा र प्रदेशसभाका आठ जना सदस्यहरू विभिन्न कारणले निलम्बनमा परेका छन् । तीन वर्ष पहिले २०७९ मङ्सिर ४ मा भएको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनपछि हालसम्म प्रतिनिधिसभाका सदस्य चारजना र विभिन्न प्रदेशसभाका चारजना सदस्यहरू निलम्बनमा परेका हुन् । 

प्रतिनिधिसभा सचिवालयले दिएको जानकारीअनुसार विभिन्न मितिमा प्रतिनिधिसभाका चारजना सदस्यहरू अहिले निलम्बनमा रहेका छन् । प्रतिनिधिसभाकी एकजना सदस्य भने फरार रहेकी छिन् । सचिवालयको भनाइअनुसार सबैभन्दा पहिले नेकपा एमालेका अर्घाखाँचीबाट निर्वाचित टोपबहादुर रायमाझी निलम्बनमा परेका हुन् ।

रायमाझीलाई भुटानी शरणार्थी काण्डमा २०७९ वैशाख ३१ गते जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको थियो । निलम्बनको सुरुवात गर्ने रायमाझीको निलम्बन २०७९ असार १ गतेबाट सुरु भएको हो ।

रायमाझीपछि निलम्बनमा पर्ने दोस्रो सांसद चितवन निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित सांसद रवि लामिछाने हुन् । सहकारी घोटाला र संगठित अपराधमा पुर्पक्षका लागि थुनामा रहेका लामिछाने २०८१ पुष ८ गतेदेखि निलम्बनमा परेका छन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा संसदीय दलका नेता पनि हुन् ।

प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसबाट निर्वाचित मोहनबहादुर बस्नेत पनि अहिले निलम्बनको अवस्थामा रहेका छन् । सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं २ का सांसद बस्नेत सञ्चारमन्त्री रहेका बेला टेरामक्स खरिद प्रकरणमा अन्य १६ जनासँगै मुछिएका हुन् । बस्नेतको पद २०८१ जेठ १ गतेदेखि निलम्बनमा परेको छ ।

निलम्बनमा पर्ने हालसम्मका सबैभन्दा पछिल्ला प्रतिनिधिसभा सदस्य माधवकुमार नेपाल हुन् । प्रधानमन्त्री रहेका बेला हदबन्दीभन्दा धेरै जग्गा एक निजी कम्पनीलाई दिने र सो जग्गा साटफेर गर्न दिएको अभियोग नेपालमाथि लागेको छ । २०८२ जेठ २२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा पतञ्जलि जग्गा साटफेर प्रकरणमा मुद्दा दायर गरेपछि सोही दिनदेखि नेपाल निलम्बनमा परेका हुन् ।

प्रतिनिधिसभाकी अर्की सांसद भने फरार रहेकी छिन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट समानुपातिक सांसद रहेकी गीता बस्नेत नवलपुरको छिपछिपे बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनको आरोपमा २०८१ वैशाख १४ गतेदेखि फरार रहेकी छिन् ।

प्रदेशसभा पनि छैन चोखो

प्रदेशसभाका पनि विभिन्न चारजना सांसद निलम्बनमा रहेका छन् भने एकजनाको निलम्बन फुकुवा भइसकेको छ । हाल निलम्बनमा रहेका सदस्यहरू कर्णाली, मधेस, सुदूरपश्चिम र लुम्बिनी प्रदेश सभाका सांसद हुन् । गण्डकी प्रदेशसभाका फणिन्द्र देवकोटाको निलम्बन भने फुकुवा भइसकेको छ । दल बदलमा निलम्बनमा रहेका देवकोटा हाल नेकपा माओवादी केन्द्रमा रहेका छन् ।

सुदूरपश्चिम प्रदेशका सांसद तथा कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही हाल निलम्बनमा रहेका छन् । ह्‌वाइटबडी जहाज खरिदमा १ दशमलव ४७ अर्ब रुपैयाँ अनियमितता गरेको आरोपमा २०८० चैत २२ गतेदेखि उनी निलम्बनमा परेका हुन् ।

लोकतान्त्रिक समाजवादी पार्टीका संसदीय दलका नेतासमेत रहेका अभिराम शर्मालाई २०७२ सालमा मधेस आन्दोलनका क्रममा सशस्त्र प्रहरी बलका असई थम्मन विकको हत्या अभियोग लागेको छ । शर्मा २०८० मंसिर २८ गतेदेखि निलम्बनमा छन् । उनी मधेस प्रदेशका सांसद हुन् ।

नेकपा एकीकृत समाजवादी संसदीय दलका सुदूरपश्चिम प्रदेशका नेता दीर्घ सोडारी गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा हाल निलम्बनमा परेका छन् ।  यस्तै, लुम्बिनी प्रदेशसभा सदस्य जानकी प्रसाद यादव पनि हाल निलम्बनमा परेकी छन् । यादव वन व्यवस्थापन समिति अध्यक्ष रहेको बेला २९ लाख रुपैयाँ बराबरको अनियमितता गरेको अभियोग रहेको छ ।

पछिल्लो समय निलम्वित सांसदहरुका निर्वाचन क्षेत्रका जनताले आफ्ना सांसदहरु निलम्बनमा पर्दा स्थानिय जना मर्कामा परेको बताएका छन् । लामो समयसम्म निर्वाचन क्षेत्रहरूलाई जनप्रतिनिधिविहिन बनाउन नहुने आम मानिसको माग रहेको छ ।

अर्घाखाँचीका मतदाताले त आफुहरु लामो समय जनप्रतिनिधिविहीन भएकोले आफ्ना सांसद रायमाझीको मुद्दा छिटो टुङग्याउन अनुरोध गर्दै प्रेस विज्ञप्ति समेत सार्वजनिक गरिसकेका छन् ।   

पछिल्लो समय निलम्बित सांसदहरूका निर्वाचन क्षेत्रका जनताले आफ्ना सांसदहरू निलम्बनमा पर्दा स्थानीय जनता मर्कामा परेको बताएका छन् ।  लामो समयसम्म निर्वाचन क्षेत्रहरूलाई जनप्रतिनिधिविहीन बनाउन नहुने आम मानिसको माग रहेको छ । अर्घाखाँचीका मतदाताले त आफूहरू लामो समय जनप्रतिनिधिविहीन भएकोले आफ्ना सांसद रायमाझीको मुद्दा छिटो टुङ्ग्याउन अनुरोध गर्दै प्रेस विज्ञप्तिसमेत सार्वजनिक गरिसकेका छन् ।

Share News