बागमतीका खानेपानीमन्त्री खड्काले दिए राजीनामा

काठमाडौं । बागमती प्रदेश सरकारमा रहेका खानेपानी, ऊर्जा तथा सिचाईं मन्त्री श्यामकुमार खड्काले सोमबार साँझ पदबाट राजीनामा दिएका छन् । नेपाली कांग्रेसबाट मन्त्री बनेका खड्काले कांग्रेस संसदीय दलको कार्यालयमा मुख्यमन्त्री बहादुरसिंह लामालाई राजीनामा पत्र बुझाएका हुन् ।

खड्काले राजीनामा दिंदै लामाविरुद्धको अविश्वास प्रस्तावमा पनि हस्ताक्षर गरेका छन् । यससँगै अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने सांसदहरूको संख्या २२ पुगेको छ ।

यसअघि साउन ९ गते प्रदेश सरकारका चार मन्त्री युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जन, आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, र सहकारी तथा गरिबी निवारणमन्त्री मधुकुमार श्रेष्ठले पनि सामूहिक रूपमा राजीनामा दिएका थिए । उनीहरूले राजीनामा दिए पनि सोही दिन साँझ मुख्यमन्त्री लामाले उनीहरूलाई पदमुक्त गरिएको पत्र प्रदेश प्रमुख दीपकप्रसाद देवकोटालाई पठाएका थिए ।

मुख्यमन्त्री लामा अहिले आफ्नै पार्टी नेपाली कांग्रेसभित्रका २१ जना सांसदहरूको अविश्वास प्रस्तावको दबाबमा छन् । पार्टीभित्र बढ्दो असन्तोष समाधान गर्न कांग्रेस केन्द्रीय सदस्य राजन केसीले सोमबारदेखि नै लामासँग र संसदीय दलका नेतासमेत रहेका इन्द्रबहादुर बानियाँसँग छुट्टाछुट्टै छलफल गरिरहेका छन् ।

यद्यपि, कांग्रेस संसदीय दलको लागि बोलाइएको बैठक दिउँसो १ बजेका लागि तय भए पनि साँझ ४ बजेसम्म बस्न सकेको थिएन । 

Share News