काठमाडौं । सङ्घीय संसद् राष्ट्रिय सभाको बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आज दिउँसो १ः१५ बजे बस्दैछ ।
आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले ‘चलचित्र विधेयक, २०८१’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्ने कार्यसूची छ ।
यस्तै, विकास आर्थिक मामिला तथा सुशासन समितिमा सभापति कमला पन्तले ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्ने छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा जानकारी गराउने छन् ।
यसैगरी, विधायन व्यवस्थापन समितिको बैठक आज बिहान १०ः३० बजे बस्दैछ । सो समितिको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ माथि दफावार छलफल गर्ने कार्यसूची छ ।