काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेकपा एमाले र नेपाली काँग्रेसबीच भएको सात बुँदे सहमतिलाई कम नआँक्न चेतावनी दिएका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् ।
उनले सरकारमा अस्थिरता बढेको र सुशासन कायम हुन नसकेको जनगुनासोपछि स्थायित्व, स्थिरता र सुशासन दिनका लागि जनताको मागअनुसार दुई ठूला राजनीतिक दलहरु मिलेर सरकार बनाएको बताए । वर्तमान सरकारले ६ महिनामा सरकार परिवर्तन हुने अस्थिर बाटोलाई तोडेर अघि बढेको बताए । गत निर्वाचन सकिनासाथ सरकारमा नहुँदा काँग्रेसीजनमा कस्तो भएको थियो भन्ने विचार गर्न पनि सचेत गराए ।
आफूहरु मन्त्री, उपप्रधानमन्त्री र सांसद बन्छु भनेर त्यसबेला पार्टीमा आवद्ध भइ आन्दोलनमा नहोमिएको बताए । आन्दोलनमार्फत आफूहरुले जनताको अधिकार पुनःवहाली गरेको बताए । अबको काम प्राप्त अधिकारलाई सुरक्षित गर्नु रहेको पनि जानकारी दिए ।
उपप्रधानमन्त्री सिंहले भने, ‘हामी जनतालाई अधिकार दिनका लागि राजनीतिमा आएको हो । केही प्राप्त होला, उपप्रधानमन्त्री, मन्त्री, सांसद बनौँला भनेर पार्टीमा लागेको होइन । सात बुँदे जुन समझदारी बनेको छ, त्यो त्यसै सितिमिति कम आँकलन नगरौँ । राजनीतिक स्थिरता ल्याउनका लागि देशको ठूलो दल नेपाली काँग्रेस र दोस्रो ठूलो दल नेकपा एमाले मिलेर अरु दलहरुलाई पनि समेटेर यो वर्तमान गठबन्धन सरकार चलिरहेको छ । नत्र ६ महिनामा त सरकार परिवर्तन भइरहन्थ्यो ।’
उपप्रधानमन्त्री सिंहले नेपाली काँग्रेसलाई व्यवस्थित गरेर अघि लैजानुपर्ने बताए । काँग्रेसलाई विधि, नियमसम्मत तरिकाले संस्थागत गरेर अघि बढाउनुपर्ने बताए । काँग्रेसलाई चुनौतिको सामना गर्नसक्ने बनाउनु बाहेकको उद्देश्य आफूमा नरहेको जानकारी दिए ।