पहिलो पटक नेपाल फिटनेस एक्स्पो २०२५ हुँदै, फिटनेस जगतलाई नयाँ आयाम दिने

काठमाडौं ।  नेपाली फिटनेस जगतलाई नयाँ उचाइमा पुर्याउने उद्देश्यका साथ नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको नेपाल फिटनेस एक्स्पो २०२५ को आयोजना गरिने भएको छ । 

आगामी भदौ १४ गते काठमाडौंको मल्ल होटेलको प्रांगणमा हुन लागेको यो भव्य कार्यक्रमको बारेमा बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । 

क्लासिक फिटनेस एकेडेमीको आयोजना र रिगल इभेन्ट्सको व्यवस्थापनमा हुन लागेको यस कार्यक्रममा फिटनेससँग सम्बन्धित विभिन्न गतिविधि, प्रदर्शनी र सम्मान कार्यक्रमहरू समावेश गरिने बताइएको छ ।

क्लासिक फिटनेस एकेडेमी नेपालका संस्थापक निर्देशक रोजल शाहीले यो कार्यक्रम नेपाली फिटनेस क्षेत्रका लागि एक कोशेढुंगा साबित हुने विश्वास व्यक्त गरे । उनले भने, 'नेपाली फिटनेस जगतलाई नयाँ आयाम दिने यो कार्यक्रमले स्वास्थ्य र व्यवसायलाई एउटै मञ्चमा ल्याउनेछ ।'

यो एक्स्पोले नेपालमा फिटनेससम्बन्धी उत्पादन, सेवा र जानकारीको एउटा ठूलो हब सिर्जना गर्ने लक्ष्य राखेको उनको भनाइ छ । फिटनेसलाई केवल शरीरमात्र सीमित नराखी यसलाई जीवनशैलीसँग जोड्ने प्रयास स्वरूप यो कार्यक्रम आयोजना गरिएको हो ।

नेपाल फिटनेस एक्स्पोमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिटनेस सेलिब्रिटीहरूको सहभागिता रहनेछ । कार्यक्रममा भारत, मलेसिया लगायतका देशहरूबाट फिटनेस इन्फ्लुएन्सर, बिजनेस आइकन र प्रशिक्षकहरू सहभागी हुनेछन् । यसले गर्दा नेपाली फिटनेस प्रेमीहरूले अन्तर्राष्ट्रिय स्तरको अनुभव प्राप्त गर्नेछन् ।

एक्सपोमा फिटनेससम्बन्धी उपकरणहरू, सप्लिमेन्टहरू, र अन्य उत्पादनहरूको प्रदर्शनीका साथै फिटनेस फ्यासन शो, मिट एण्ड ग्रिट सेसन जस्ता रोचक कार्यक्रमहरू पनि समावेश गरिनेछन् । यसले गर्दा दर्शकहरूले मनोरञ्जनका साथै ज्ञान पनि प्राप्त गर्नेछन् ।

यस कार्यक्रममा पहिलो पटक फिटनेस क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गरिने भएको छ । 'राइजिङ स्टार', 'बेस्ट कोच अफ द इयर', 'बेस्ट एथलिट' जस्ता विधामा अवार्ड प्रदान गरिने जनाइएको छ । 

साथै फिटनेस क्षेत्रमा लामो समयदेखि योगदान दिइरहेका व्यक्तित्वहरूलाई 'लाइफटाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मान गरिनेछ ।

यो एक्स्पोमा सबैका लागि प्रवेश निःशुल्क गरिएको छ । कुनै पनि उमेर समूहका व्यक्तिहरूले यस कार्यक्रममा सहभागी हुन सक्नेछन् । आयोजकका अनुसार यो कार्यक्रम केवल फिटनेस प्रेमीहरूका लागि मात्र नभएर स्वास्थ्यप्रति सचेत सबैका लागि खुला छ ।

वरिष्ठ फिटनेसकर्मीहरू सुरेश सुवेदी, दिनेश राजभण्डारी र नारायण प्रधानले यो कार्यक्रमको प्रशंसा गरे । उनीहरूले यो एक्स्पोले नेपाली फिटनेस जगतमा सकारात्मक परिवर्तन ल्याउने र युवाहरूलाई दुर्व्यसनबाट टाढा राख्न मद्दत गर्ने विश्वास व्यक्त गरे । 

क्लासिक फिटनेस एकेडेमीका म्यानेजिङ डिरेक्टर रचना राणाभाटले एकेडेमीले नेपालमा फिटनेस शिक्षालाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको बताइन् । उनका अनुसार  कार्यक्रममा ७० लाखभन्दा बढी लगानी लाग्नेछ ।

‘क्लासिक फिटनेस एकेडेमी’ को आयोजनामा र ‘रिगल इभेन्ट’ को व्यवस्थापनमा हुने एक्स्पोमा करिब ३ हजार व्यक्तिको सहभागिता रहने अनुमान गरिएको छ । आयोजकका अनुसार कार्यक्रमको उद्देश्य केवल ब्रान्ड प्रचार मात्र नभइ नेपाली फिटनेस उद्योगलाई व्यवस्थित र अन्तर्राष्ट्रिय बजारसँग जोड्नु पनि हो ।

कार्यक्रमका प्रमोटर सन्तोष श्रेष्ठका अनुसार नेपाल फिटनेस एक्स्पो २०२५ नेपाली फिटनेस क्षेत्रका लागि एक ऐतिहासिक कार्यक्रम हुने अपेक्षा गरिएको छ । यसले फिटनेसलाई व्यावसायिक र जीवनशैलीसँग जोड्दै सबैलाई स्वस्थ रहन प्रेरित गर्नेछ । 

मल्ल होटेलमा आयोजना हुने यो भव्य कार्यक्रममा सहभागी हुन आयोजकले सबैलाई आह्वान गरेको छ । 

Share News