काठमाडौं । उदयपुरको त्रियुगा गाईघाट जल मापन केन्द्रमा हालको जल सतहले सतर्कता तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार गाईघाट जल मापन केन्द्रमा हालको जल सतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले नदीको तटीय क्षेत्र र डुबान भइरहने होचा भू-भागमा सावधानी अपनाउन समेत विभागले आग्रह गरेको छ ।
यसैगरी, पर्वत जिल्ला स्थित कालीगण्डकी नदी, मोदी बेनी जल मापन केन्द्रमा जल सतह तह सतर्कता तह आसपास रहेको तथा बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको विभागले जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तरतर्फ अवस्थित छ । विभागका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । सबै प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । कोशीलगायत लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।
आज राति देशभर साधारणतया बदली रहनेछ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत अन्य प्रदेशका तराई भू-भागका धेरै स्थान तथा बाँकी पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेसलगायत लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।