दाङ । दाङको लमही-घोराही सडकखण्ड चार दिनका लागि बन्द हुने भएको छ । मसोट खोलामा रहेको पुल आकस्मिक रूपमा मर्मत गर्नुपर्ने भएकाले साउन २१ गते बिहान ७ बजेदेखि साउन २४ गते बिहान ७ बजेसम्म सवारी आवागमन पूर्ण रूपमा रोकिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
शनिबार बसेको सरोकारवालाको बैठकले उक्त अवधिमा दुई पांग्रे सवारीबाहेक सबै प्रकारका सवारी साधन चल्न नदिने निर्णय गरेको हो ।
सडक बन्दको विकल्पका रूपमा लमही–अर्जुनखोला–अमेलिया–तुलसीपुर–घोराही सडक प्रयोग गर्न सकिने प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले जानकारी दिए। वैकल्पिक मार्ग व्यवस्थापन र ट्राफिक व्यवस्थापनका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय, घोराहीलाई समन्वय गर्न भनिएको छ ।
यसका साथै, मसोट खोलाको पुल नजिक रहेको डाइभर्सनलाई सडक डिभिजन कार्यालयले मर्मत गर्ने र ट्राफिक प्रहरीको नियमनमा अत्यावश्यक सवारी साधन सञ्चालनको व्यवस्था मिलाउने निर्णयसमेत बैठकले गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले सर्वसाधारण र सवारी चालकलाई सडक बन्द अवधिमा वैकल्पिक मार्ग प्रयोग गर्न र जानकारी अनुसार यात्रा गर्न आग्रह गरेको छ ।