काठमाडौं । पूर्वी पहाडी तथा तराईका जिल्लामा लगातार भएको वर्षाले कोशी ब्यारेज भएर बग्ने पानीको बहावमा सोमबार बिहानैदेखि उतारचढाव हुने क्रम जारी छ ।
सोमबार बिहान ६ बजेको मापनअनुसार १ लाख ७५ हजार ६८५ क्युसेक प्रतिसेकेण्ड पानीको बहाव रहेकामा राति ८ बजे गरिएको मापनअनुसार १ लाख ७५ हजार ६८५ क्युसेक प्रतिसेकेण्ड रहेको थियो ।
सोमबार राति १० बजेको मापनअनुसार १ लाख ७९ हजार ७४० क्युसेक प्रतिसेकेण्ड पानीको बहाव रहेको सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिए । अहिले ५२ वटा मूल र ४ वटा नहरका ढोकामध्ये १९ वटा खुला गरिएको उनले बताए ।
कोशी ब्यारेज भएर १ लाख ५० हजारभन्दा माथि पानीको बहाव भएपछि सर्वसाधारणलाई सचेत गर्न खतराको सङ्केत स्वरूप रातो बत्ती बाल्ने गरिएको छ । सोहीअनुसार रातो बत्ती बालिएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ ।
विसं २०६५ भदौ २ गते १ लाख ६८ हजार क्युसेक पानीको बहाव हुँदा सप्तकोशी नदीले पूर्वी तटबन्ध भत्काएको थियो ।