काठमाडौं । प्रधानन्यायाधीश नियुक्ति प्रक्रियामा संवैधानिक विधि र न्यायिक परम्परा मिचिएको भन्दै न्याय क्षेत्रमा तीव्र तरंग उत्पन्न भइरहेका बेला नेपाल बार एसोसिएसनले आकस्मिक बैठक बोलाएको छ ।
संवैधानिक परिषद्ले सर्वोच्च अदालतका चौथो वरीयताका न्यायाधीश डा. मनोज शर्मालाई प्रधानन्यायाधीश पदमा सिफारिस गरेपछि न्याय क्षेत्र तरंगित बनेको हो ।
उक्त निर्णयप्रति असन्तुष्टि जनाउँदै शुक्रबार सर्वोच्च अदालतको पेशी व्यवस्थापनसमेत प्रभावित भएको छ ।
प्रधानन्यायाधीशका न्याय परिषद्ले सिफारिस गरेका ६ जनामा उनी चौथो वरीयतामा थिए । चौथो वरीयतामा भएका व्यक्तिलाई प्रधानन्यायाधीश सिफारिस गरेकाे भन्दै अहिले नेपाल बार एसोसियसनले वरिष्ठ अधिवक्तासहित आकस्मिक बैठक आह्वान गरेको हाे ।
बैठकमा संवैधानिक परिषद्को पछिल्लो निर्णय, न्यायिक स्वतन्त्रता, वरिष्ठताको परम्परा तथा संवैधानिक प्रक्रियाका विषयमा विस्तृत छलफल भइरहेको नेपाल बार एसोसिएसनका अध्यक्ष वरीष्ठ अधिवक्ता प्रा.डा. विजय मिश्रले जानकारी दिए ।
उनका अनुसार बैठकले प्रधानन्यायाधीश सिफारिससम्बन्धी निर्णयबारे बारको आधिकारिक धारणा तय गर्नेछ । साथै सोही आधारमा आगामी रणनीति र आन्दोलनका कार्यक्रमबारे समेत निर्णय गरिने उनले बताए ।
प्रधानन्यायाधीश नियुक्तिमा वरिष्ठता र न्यायिक परम्परालाई बेवास्ता गरिएको आरोप लागिरहेका बेला कानुन व्यवसायी, पूर्वन्यायाधीश तथा न्याय क्षेत्रसँग सम्बद्ध व्यक्तिहरूले समेत चासो व्यक्त गर्न थालेका छन् ।