पूर्वाधार निर्माणमा गहिरो अध्ययनको खाँचो, वैज्ञानिक मोडेल आवश्यक: मन्त्री दाहाल

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पूर्वाधार निर्माणअघि विशिष्ट अध्ययन र अनुसन्धानलाई प्राथमिकता दिन आवश्यक रहेको बताएका छन् । 

नेपाल इन्जिनियरिङ काउन्सिलले बिहीबार काठमाडौंमा आयोजना गरेको ‘इन्जिनियरिङ पेशा र नेपाल इन्जिनियरिङ काउन्सिलको भूमिका’ विषयक कार्यशालामा बोल्दै मन्त्री दाहालले दिगो र सुरक्षित पूर्वाधार निर्माणका लागि भूगोलअनुकूल प्रविधि र विकास मोडेल आवश्यक भएको धारणा राखे । 

‘नेपालको भौगोलिक चुनौतीलाई सम्बोधन गर्न सक्ने प्रविधिबारे गहिरो अध्ययन आवश्यक छ,’ मन्त्री दाहालले भने, ‘पूर्वाधार निर्माण दीगो, सुरक्षित र वैज्ञानिक ढंगले अघि बढ्नुपर्छ । ’ उनले आवश्यक नीति तथा कानुन निर्माण र संशोधनका लागि सरकार तयार रहेको पनि स्पष्ट पारे । 

मन्त्री दाहालले ठूला राजमार्गहरूको विस्तार, आधुनिक सुरुङ निर्माण तथा नेपालको विशिष्ट भौगोलिक बनोटअनुकूल सुरक्षित सडकजस्ता संरचना निर्माणमा नेपाली इन्जिनियरहरूको योगदान उच्च रहेको बताए । 

उनले नेपाली इन्जिनियरहरूको शिक्षा र क्षमताले अन्तर्राष्ट्रिय मान्यता पाउन थालेको उल्लेख गर्दै यसले पेशा र क्षेत्र दुवैमा उत्साह थपेको धारणा व्यक्त गरे । 

कार्यक्रममा मन्त्रालयका सचिव केशवकुमार शर्माले नेपाल अहिले पूर्वाधार निर्माणको तीव्र चरणमा रहेको भन्दै अबको चरणमा गुणस्तरीय उपयोगमार्फत आर्थिक समृद्धितर्फ अग्रसर हुन सकिने बताए । उनले नेपालमै उत्पादित इन्जिनियरिङ जनशक्तिबाटै पूर्वाधार क्षेत्रलाई आधुनिक दिशातर्फ लैजान सकिने विश्वास व्यक्त गरे । 

त्यस्तै, नेपाल इन्जिनियरिङ काउन्सिलका अध्यक्ष पदमबहादुर शाहीले इन्जिनियरिङ क्षेत्रले विकासका विविध आयाम समेट्ने भएकाले यसको योगदानबिना आधुनिक विकास सम्भव नरहेको बताए ।

काउन्सिलका रजिस्ट्रार ध्रुवराज भट्टराईले कार्यक्रममा इन्जिनियरिङ पेशा र काउन्सिलको भूमिकाका विभिन्न पक्षमा विज्ञहरूसँग व्यापक छलफल भएको जानकारी गराए ।

Share News