काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले १५ लाख २३ हजार बोरा रासायनिक मल भारतको कोलकत्ता बन्दरगाहमा प्राप्त भइसकेको र ती मल धमाधम नेपालस्थित कर्पोरेशनका गोदममा ल्याउने क्रम जारी रहेको जनाएको छ ।
कर्पोरेशनले हालै मात्र ४ लाख ४० हजार बोरा युरिया र १० लाख ८३ हजार बोरा डिएपी गरी कूल १५ लाख २३ हजार बोरा रासायनिक मल आयात गरेको थियो ।
गोदाममा आइरहेका उक्त मल कोटा वितरणका लागि प्रदेश सरकारलाई पत्राचार गरिसकेको र प्रदेश सरकारहरूद्वारा पालिकालाई कोटा वितरण भइसकेको भन्ने जानकारी कर्पोरेशनलाई प्राप्त भएको पनि संस्थाले स्पष्ट पारेको छ ।
रासायनिक मलको पछिल्लो अवस्थाका बारेमा कर्पोरेशनद्वारा शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ, ‘कर्पोरेशनको मल बिक्रेताका रूपमा दर्ता भएका सम्पूर्ण डिलरहरूलाई आफ्नो पालिका तथा कर्पोरेशनको सम्बन्धित कार्यालयसँग समन्वय गरी कोटा अनुसारको मल बिक्री वितरण गर्न अनुरोध गरिन्छ ।’
हाल बजारमा रासायनिक मलको अभाव भएको भनी विभिन्न सञ्चारमाध्यम एवं सामाजिक सञ्चालनमा समाचार तथा पोष्ट भइरहेकामा कर्पोरेशनले विज्ञप्तिमार्फत् आफ्नो ध्यानाकर्षणसमेत भएको जनाएको छ ।