रुपन्देही ३ उपनिर्वाचनमा २६ दल दर्ता

काठमाडौं । निर्वाचन आयोगले आगामी कात्तिक १७ गते हुने रुपन्देही क्षेत्र नं ३ को उपनिर्वाचनका लागि २६ वटा राजनीतिक दल दर्ता गरेको छ । दल दर्ताका लागि साउन १६ गते सूचना जारी गर्दै साउन २७ सम्म राजनीतिक दल दर्ता गर्न निर्वाचन आयोगले दलहरुलाई आव्हान गरेको थियो । 

जस अनुसार निवेदन दिएका २७ दल मध्ये कानुनी रित पूरा भएका २६ दललाई आयोगको सोमबारको निर्णयअनुसार दर्ता गरिएको प्रवक्ता नीता पोखरेलले जानकारी दिइन् । पोखरेलका अनुसार नेपालको संविधान २०७२ को धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४८ बमोजिम उपनिर्वाचनका लागि दल दर्ता गरिएको आयोगले जानकारी दिएको छ ।

निर्वाचन आयोगको दल दर्तामा सबैभन्दा पहिलो नम्बरमा मङ्गोल नेशनल अर्गनाइजेशन दर्ता भएको आयोगले जानकारी दियो । 

दोश्रोमा राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता हुँदा नेपाली कांग्रेस साताैँ र नेकपा एमाले ११ औँ नम्बरमा दर्ता भएको आयोगले जानकारी दिएको छ । आयोगको उपनिर्वाचन कार्यतालिका अनुसार आगामी असोज २१ गते उम्मेदवार मनोनयन दर्ता गरिने कार्यक्रम रहेको छ ।

Share News