काठमाडौं । डा. हरिहरदेव पन्तको स्मृतिमा स्थापित आर्थिक पत्रकारिता पुरस्कार यस वर्ष आर्थिक अभियान दैनिकका संवाददाता यादव हुमागाईंलाई प्रदान गरिने भएको छ ।
डा. हरिहरदेव पन्त फाउन्डेशनद्वारा स्थापना गरिएको उक्त पुरस्कार डा. पन्तको दशौं वार्षिक पुण्य स्मृति दिवश पारेर भदौ २१ गते शनिबार यादव हुमागाईंलाई प्रदान गरिने भएको हो ।
जीवनका अधिकांश समय देशमा आर्थिक विकास तथा गरिबी न्यूनीकरण गर्नका लागि समर्पित लघुवित्तका प्रथम प्रवर्द्धक डा. हरिहरदेव पन्तको स्मृतिमा उक्त पुरस्कार स्थापना गरिएको थियो । फाउन्डेसनले प्रत्येक वर्ष एकजना उत्कृष्ट आर्थिक पत्रकार वा संघ, संस्थालाई आर्थिक पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ ।
यसअघि उक्त पुरस्कार प्रत्येक वर्ष गोकर्ण अवस्थी, विष्णु बेल्वासे, एलिजा उप्रेती, ममता थापा, विजयराज खनाल, यज्ञ बञ्जाडे र कृष्ण रिजाललाई प्रदान गरिएको थियो ।
फाउण्डेशनले पत्रकारितामार्फत आर्थिक विकासमा योगदान पुर्याउने विभिन्न पत्रपत्रिका, रेडियो, टेलिभिजन, अनलाइन समाचार तथा पत्रकारलाई सम्मान गर्दै आएको छ ।
विगत पन्ध्र वर्षभन्दा लामो समयदेखि आर्थिक क्षेत्रमा कलम चलाउँदै आएका आर्थिक अभियान दैनिकका संवाददाता हुमागाईंलाई पुरस्कारस्वरूप नगद एक लाख रुपैयाँसहित सम्मानपत्र प्रदान गर्ने निर्णय गरिएको हो।